टोकियो । जापानी निप्पोन स्टिलले अमेरिकाको पेन्सिलभेनियामा रहेको यूएस स्टिल कर्पोरेसनको प्लाटहरुमा तीन वर्षभित्र २.५ अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने भएको छ ।
जापानी स्टिल निर्माता कम्पनीको अमेरिकी सहायक कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनमा निप्पोन स्टिल कर्पोरेसनले उक्त लगानी गर्ने उल्लेख छ ।
‘मोन भ्याली वक्र्स’ मा गर्न लागिएको यो पछिल्लो अनुमानित लगानी, गत वर्ष समस्याग्रस्त अमेरिकी उत्पादक कम्पनी (युएस स्टिल) लाई पूर्ण स्वामित्वको सहायक कम्पनी बनाउनुअघि निप्पोन स्टिलले गरेको कम्तीमा १ अर्ब डलरको प्रतिबद्धता भन्दा धेरै ठूलो हो ।
भर्खरै सार्वजनिक गरिएको ‘आर्थिक प्रभाव विश्लेषण’ अनुसार, पिट्सबर्ग क्षेत्रको सञ्चालनमा हुने कुल लगानी करिब २ अर्ब डलरदेखि २.५ अर्ब डलरको बीचमा हुने अपेक्षा गरिएको छ ।
यो योजनाबद्ध लगानी ब्राडोकस्थित ‘एड्गर थम्पसन प्लान्ट’ मा केन्द्रित हुनेछ र यसमा नजिकैको ‘इर्भिन प्लान्ट’ मा बन्द गर्ने तालिका रहेको पुरानो हट स्ट्रिप मिललाई प्रतिस्थापन गर्ने कार्य समेत समावेश हुनेछ ।
युएस स्टिलका अनुसार प्रतिस्थापित नयाँ प्लान्टले मोन भ्याली वक्र्सलाई अटोमोटिभ स्टिल (गाडी उत्पादनमा प्रयोग हुने स्टिल) जस्ता उच्च–मूल्य भएका बजारहरूका लागि उत्पादन गर्न अझ सक्षम बनाउनेछ ।
सुरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै युएस स्टिल खरिद गर्ने निप्पोन स्टिलको योजनाको विरोध गरे पनि जनवरी २०२५ मा ह्वाइट हाउस फर्किएपछि उनले आफ्नो अडान परिवर्तन गरेका थिए ।
जापानी कम्पनीले समस्याग्रस्त अमेरिकी स्टिल निर्मातामा ठूलो लगानी गर्ने प्रतिबद्धता जनाएपछि र अमेरिकी सरकारलाई प्रमुख व्यवस्थापकीय निर्णयहरूमा भिटो (निषेधाधिकार) प्रयोग गर्न पाउने अधिकार सहितको ‘गोल्डेन सेयर’ जारी गरेपछि उनले यो अधिग्रहणलाई स्वीकृति दिएका थिए ।
निप्पोन स्टिलले सोही वर्षको जुन महिनामा यस अधिग्रहणको प्रक्रिया पूरा गरेको थियो ।


