जापान समाचार

देउवानिकट नेपाली जनसम्पर्क समिति जापानको सातौँ अधिवेशन नोभेम्बर २९ मा

शशांक कोइरालाको प्रमुख आतिथ्यता र प्रकाशशरण महतको विशिष्ट आतिथ्यतामा टोकियोमा अधिवेशन हुँदै, रेशम डंगोलको संयोजकत्वमा २१ सदस्यीय आयोजक समिति गठन।

टोकियो । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवानिकट नेपाली जनसम्पर्क समिति जापानको सातौं अधिवेशन नोभेम्बर २९ मा टोकियोमा हुने भएको छ।

अधिवेशनमा कांग्रेस नेता प्रा. डा. शशांक कोइराला प्रमुख अतिथि र पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत विशिष्ट अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।

टोकियोको शिनओकुबोस्थित कुमारी रेस्टुरेन्टमा बिहान ११ बजेदेखि सुरु हुने अधिवेशनमा कांग्रेसको जनसम्पर्क समन्वय विभागका प्रमुख किरणराज शर्मा न्यौपानेको पनि विशिष्ट आतिथ्यता रहनेछ।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ भन्ने मूल नारासहित आयोजना हुने अधिवेशनको तयारीका लागि रेशमकुमार डंगोलको संयोजकत्वमा २१ सदस्यीय आयोजक समिति गठन गरिएको छ।

देउवानिकट कांग्रेसको १५औं महाधिवेशन तयारी समितिले डंगोललाई जापानको संयोजकमा मनोनयन गरेपछि उनको नेतृत्वमा अधिवेशनको तयारी अघि बढाइएको हो।

अधिवेशनमा संगठनको आगामी नेतृत्व, कार्यदिशा तथा जापानमा कांग्रेससम्बद्ध गतिविधिलाई थप सक्रिय बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि कांग्रेसको अर्को समूहसम्बद्ध नेपाली जनसम्पर्क समिति जापानले सातौं महाधिवेशन सम्पन्न गरी राजेन्द्रप्रसाद जमरकट्टेलको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो।

आयोजक समितिले अधिवेशनमा जापानस्थित कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सहभागिताका लागि आग्रह गरेको छ।

सेयर गर्नुहोस्