जापान समाचार

नेपाल हाउसको जग्गामा राखिएका रेस्टुरेन्टका सामान सात दिनभित्र हटाउन एनआरएनए जापानको आग्रह


टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपाल हाउस निर्माणका लागि यसअघि खरिद गरिएको जग्गामा राखिएका रेस्टुरेन्टका सामान सात दिनभित्र हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

संघका प्रवक्ता सचिन आचार्यले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा ती सामान कसले र कसको अनुमतिमा राखेको हो भन्नेबारे संघलाई जानकारी नभएको उल्लेख छ।

उक्त जग्गामा रेस्टुरेन्टमा प्रयोग हुने सामग्री भण्डारण गरिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि संघले यसबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।

संघका अनुसार सामान कहिले र कुन प्रयोजनका लागि त्यहाँ राखिएको हो भन्ने पनि खुलेको छैन। संघको आधिकारिक निर्णय, सहमति वा स्वीकृतिमा सामान राखिएको भन्ने कुनै आधार नरहेको विज्ञप्तिमा उल्लेख छ।

संघले सम्बन्धित व्यक्ति वा पक्षलाई विज्ञप्ति जारी भएको मितिले सात दिनभित्र सबै सामान हटाएर भण्डारण क्षेत्र खाली गर्न र संघसँग सम्पर्कमा आउन आग्रह गरेको छ।

तोकिएको अवधिभित्र सामान नहटाइए वा सम्बन्धित पक्ष सम्पर्क र समन्वयका लागि नआए जग्गाको संरक्षण र संस्थाको हितका लागि प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाउने संघले जनाएको छ।

सेयर गर्नुहोस्