गल्कोट समाज जापानको क्षेत्रीय अधिवेशन ३० जुन र केन्द्रीय अधिवेशन २१ जुलाइमा

|

टोकियो। जापानमा रहेका गल्कोटवासी नेपालीहरूको साझा सामाजिक संस्था गल्कोट समाज जापानले क्षेत्रीय र केन्द्रीय अधिवेशनको मिति तय गरेको छ ।

समाजले आफ्नो विधान तथा वार्षिक कार्यतालिका अनुसार आगामी क्षेत्रीय तथा केन्द्रीय अधिवेशनको मिति निर्धारण गरेको हो।

समाजद्वारा जारी विज्ञप्तिअनुसार जापानभर क्रियाशील रहेका सम्पूर्ण क्षेत्रीय समितिहरूको अधिवेशन आगामी २०२६ जुन ३० तारिख एकै दिन सम्पन्न गरिनेछ।

त्यसैगरी, नवौं केन्द्रीय अधिवेशन २०२६ जुलाई २१ तारिख आयोजना गरिने निर्णय गरिएको छ।

गल्कोट समाज जापानका महासचिव दिलीप कँडेलका अनुसार अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थाको भावी कार्ययोजना, संगठन विस्तार, संस्थागत सुदृढीकरण तथा समुदायका हितसँग सम्बन्धित विविध विषयमा महत्वपूर्ण निर्णय गर्नेछ।

अधिवेशनले समाजलाई अझ व्यवस्थित, पारदर्शी, उत्तरदायी तथा प्रभावकारी बनाउने दिशामा मार्गनिर्देशन समेत प्रदान गर्ने अपेक्षा गरिएको छ।

जापानमा रहेका गल्कोटवासी तथा सम्पूर्ण नेपाली समुदायबीच आपसी सद्भाव, सहयोग र एकताको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरू सञ्चालन गर्दै आएको गल्कोट समाज जापानले स्थापनाकालदेखि नै समुदायको साझा संस्थाको रूपमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएको जनाएको छ।

संस्थाले हालसम्म प्राप्त गरेका उपलब्धि, सामाजिक प्रतिष्ठा तथा संस्थागत उचाइका पछाडि जापानमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको प्रत्यक्ष साथ, सहयोग, सद्भाव र विश्वास नै मुख्य आधार रहेको उल्लेख गर्दै सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

साथै, संस्थालाई विभिन्न समयमा आर्थिक, नैतिक तथा भौतिक सहयोग प्रदान गर्नुहुने सहयोगदाता, शुभेच्छुक, सल्लाहकार, पूर्वपदाधिकारी, आजीवन सदस्य, साधारण सदस्य तथा सम्पूर्ण जापानवासी नेपाली समुदायप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।

अधिवेशनका अवसरमा संस्थाका वार्षिक तथा प्रगति प्रतिवेदनहरू प्रस्तुत गरिने भएकाले उपस्थित भई प्रतिवेदनहरूको अध्ययन, समीक्षा तथा रचनात्मक सुझाव प्रदान गरिदिन सम्पूर्ण सदस्य तथा सरोकारवालाहरूलाई हार्दिक अनुरोध गरिएको छ।

संस्थाको आगामी यात्रालाई अझ प्रभावकारी, परिणाममुखी तथा समुदायमैत्री बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको समाजले जनाएको छ।

गल्कोट समाज जापानले सम्पूर्ण सदस्य, शुभेच्छुक, सल्लाहकार, पूर्वपदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूलाई निर्धारित मितिमा उपस्थित भई अधिवेशनलाई भव्य, सभ्य तथा सफल बनाउन हार्दिक आह्वान गरेको छ।

अधिवेशन सम्बन्धी विस्तृत कार्यतालिका, स्थान, प्रतिनिधि चयन प्रक्रिया तथा अन्य आवश्यक जानकारी सम्बन्धित क्षेत्रीय समिति र केन्द्रीय सचिवालयमार्फत समयमै सार्वजनिक गरिने समाजले जनाएको छ।