टोकियो । लामो समयदेखि न्युन जन्मदर रहेको जापानमा २०२५ मा रेकर्ड स्तरमा कम बच्चा जन्मिएका छन् ।
केही वर्षदेखि जापानले बच्चा जन्माउने दर बढाउने विभिन्न प्रयास गरे पनि गत वर्ष पनि न्युन स्तरमा शिशुको जन्म भएको हो ।
सरकारी तथ्यांकअनुसार सन् २०२५ मा जापानमा जापानी नागरिकहरूबाट जन्मिएका शिशुहरूको संख्या ६ लाख ७१ हजार २३६ रहेको छ । यो जापानमा अहिलेसम्म तथ्यांक राख्न थालिएयताकै न्युन हो ।
योसँगै देशको कुल प्रजनन दर (एक महिलाले आफ्नो जीवनकालमा पाउने अनुमानित बच्चाहरूको औसत संख्या) पनि नयाँ न्यून स्तरमा झरेको छ ।
जन्म संख्या अघिल्लो वर्षको तुलनामा २.२ प्रतिशत वा १४ हजार ९३७ ले घटेको छ भने प्रजनन दर ०.०१ प्रतिशत विन्दुले घटेर १.१४ मा पुगेको छ । जापानमा शिशुको जन्म संख्या र प्रजननदर दुबै लगातार १० औं वर्ष घटेका हुन् ।
यद्यपि, स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयद्वारा जारी तथ्यांक अनुसार, हालैका प्रवृत्तिहरूको तुलनामा घट्ने दर सुस्त भएको छ ।
नवजात शिशुहरूको संख्या घट्ने सुस्त गति १९९० को दशकको आसपास जन्मिएका २५ देखि ३५ वर्ष उमेर समूहको स्थिर जनसंख्याको कारण हुन सक्ने सरकारको विश्लेषण छ ।
यद्यपि देशको घट्दो जन्मदरलाई रोक्न तत्काल उपायहरू आवश्यक रहेकोमा जोड दिइएको छ ।
भविष्यको जन्म प्रवृत्तिलाई प्रभाव पार्ने एक प्रमुख कारक विवाहको संख्या लगातार दोस्रो वर्ष बढेर ४ लाख ८९ हजार ११९ पुगेको छ । जसमा विवाह बन्धनमा बाँधिने पुरुषहरूको औसत उमेर ३१ वर्ष र महिलाहरूको २९.७ वर्ष रहेको छ । जुन दुबै अघिल्लो वर्षको तुलनामा कम हो ।
देशका ४७ प्रिफेक्चर (प्रान्त) मध्ये केबल चार वटामा मात्रै बच्चाहरुको जन्मदर बढेको देखिएको छ । टोकियो, तोयामा र इशिकावामा १० वर्षमा पहिलो पटक वृद्धि देखियो भने कागावामा चार वर्षमा पहिलो पटक वृद्धि भएको पाइएको छ ।
प्रिफेक्चर अनुसार प्रजननदर ओकिनावामा सबैभन्दा बढी १.५२ थियो । त्यसपछि मियाजाकीमा १.४६ र फुकुईमा १.४५ थियो भने टोकियोमा सबैभन्दा कम ०.९६ थियो । यसैगरी होक्काइदो र मियागीमा १ थियो ।
यसैबीच, गत वर्ष जापानमा कुल १५ लाख ८९ हजार ४८९ जनाको मृत्यु भएको रिपोर्ट छ । जुन कोभिडपछिको पाँच वर्षमा पहिलो पटक घटेको हो ।
मृत्युको संख्या जन्मको संख्या भन्दा ९ लाख १८ हजार २५३ ले बढी थियो । यो भनेको जनसंख्यामा प्राकृतिक गिरावट लगातार १९औं वर्ष कायम रह्यो ।
सन् २०२४ मा जन्म संख्या तीव्र रूपमा घटेर करिब ६ लाख ८६ हजारमा झरेको थियो । जुन १८९९ मा तथ्यांक राख्न सुरु गरिएपछि पहिलो पटक ७ लाखको सीमाभन्दा तल झरेको थियो ।
नेशनल इन्स्टिच्युट अफ पपुलेसन एण्ड सोसल सेक्युरिटी रिसर्चले २०२३ मा २०२५ मा जन्म संख्या करिब ७ लाख ४९ हजारसम्म झर्नसक्ने प्रक्षेपण गरेको थियो ।


