जापानमा ३ करोड ४० लाख येन बराबरको ‘पोकेमोन कार्ड’ चोरी आरोपमा २ जना पक्राउ

|

टोकियो । टोकियो प्रहरीले एउटा भ्यानबाट करिब ३ करोड ४० लाख येन मूल्य पर्ने ३०६ वटा पोकेमोन कार्डहरू चोरी गरेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा साइतामा प्रान्तको कावागुची शहरका २७ वर्षीय कम्पनी कर्मचारी तात्सुकी होसोया र कोशिगाया शहरका २६ वर्षीय बेरोजगार कोटा कोबायाशी रहेका छन् ।

उनीहरूमाथि गत डिसेम्बरमा टोकियोको चियोडा वार्डमा पार्क गरी राखिएको ट्रेडिङ कार्ड ढुवानी गर्ने भ्यानबाट कार्डहरू चोरी गरेको आरोप छ ।

प्रहरीका अनुसार, कार्डहरू संकलन गर्न विभिन्न पसलहरूमा रोकिएको उक्त भ्यानलाई यी दुई जनाले पछ्याइरहेका थिए । चालकले एउटा पसलमा कार्ड लिन जाँदा भ्यान लक गरेका थिए ।

तर, कोबायाशी त्यतिबेला सोही डेलिभरी कम्पनीमा कार्यरत रहेकाले उनले एउटा थप साँचोको प्रयोग गरी भ्यानको ढोका खोलेर कार्डहरू चोरेको बताइएको छ । कोबायाशीले डिसेम्बरको अन्त्यतिर उक्त कम्पनी छोडेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार संदिग्धहरूले केही कार्डहरू साइतामा प्रान्तको एक ‘बाईब्याक’ (पुराना सामान किन्ने) पसलमा बिक्री गरिसकेका छन्, जसबाट उनीहरूले करिब ५० लाख येन कमाएको विश्वास गरिएको छ ।