जापानले क्युबाका अस्पतालमा नवीकरणीय ऊर्जा उपकरण जडान गर्न १ अर्ब येन सहयोग गर्ने

|

टोकियो । जापानले इन्धनको अभाव झेलिरहेको क्युबाका १० वटा अस्पतालहरूमा सोलार प्यानललगायत नवीकरणीय ऊर्जा उपकरणहरू जडान गर्न १ अर्ब येन बराबरको अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

जापानी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार हवानामा क्युबाका लागि जापानी राजदूत काजुहितो नाकामुरा र क्युबास्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधि फर्नान्डो हिराल्डो डेल कास्टिलोले सहायतासम्बन्धी पत्रमा हस्ताक्षर र आदानप्रदान गरेका छन् ।

क्युबामाथि लगाइएको अमेरिकी तेल नाकाबन्दीले इन्धनको अभाव र व्यापक ‘ब्ल्याकआउट’ (विद्युत् कटौती) का कारण ऊर्जा संकटको अवस्था आएको छ ।

विद्युत् कटौतीले चिकित्सा सेवाहरू कायम राख्न गाह्रो बनाएका कारण अस्पतालहरू सबैभन्दा बढी प्रभावित बनेका छन् ।
त्यसैले अस्पतालहरूमा स्थिर बिजुली आपूर्ति सुनिश्चित गर्नुपर्ने काम प्राथमिकता साथ गर्नुपर्ने देखिएको छ ।