टोकियो । जापानको टोकियो नजिकै रहेको इबाराकी प्रिफेक्चरले अवैध विदेशी कामदारबारे जानकारी दिने व्यक्तिलाई १० हजार येन पुरस्कार दिने कार्यक्रम सुरु गरेको छ ।
जसअनुसार कुनै व्यवसायीले अवैध विदेशीलाई कामदारका रुपमा राखेको थाहा पाएमा सरकारलाई जानकारी दिएमा उनीहरुले पुरस्कार पाउनेछन् ।
पछिल्लो समययमा विदेशीप्रति निकै कठोर नियमहरु ल्याइरहेको जापानमा अवैध कामदारबारे जानकारी दिएमा पुरस्कार दिने घोषणाले विवाद निम्त्याएको थियो ।
प्रान्तीय सरकारले यसरी प्राप्त हुने जानकारी पुष्टि भएर सम्बन्धित रोजगारदातालाई प्रहरीमा रिपोर्ट गर्नेछ । यसो गर्दा सूचना पुष्टि भएर कानुनी कारबाही भएमा सुराकी दिने व्यक्तिलाई पुरस्कार दिइनेछ ।
इबाराकी प्रान्तमा पछिल्ला चार वर्षदेखि जापानकै सबैभन्दा बढी संख्यामा अवैध विदेशी कामदार भेटिएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले यस्तो कदम चालेको हो ।
स्थानीय सरकारले विदेशी कामदारको अभाव भइरहेका बेला अवैध रोजगारीमाथिको कडाइले मानवअधिकार उल्लंघनका घटना कम गर्न मद्दत गर्ने विश्वास लिएको छ ।
यद्यपि, स्थानीय बार एसोसिएसन र नागरिक समूहहरूले यस कार्यक्रमले विदेशीहरूविरुद्ध भेदभाव र समाजमा विभाजन ल्याउने भन्दै विरोध जनाएका छन् ।
सरकारको यस्तो घोषणाले वैध रुपमै जापानमा काम गरिरहेका विदेशीहरुमा समेत त्रास र असुरक्षाको भावना पैदा गर्न सक्ने भन्दै चिन्ता भइरहेको छ ।
अवैध कामदारबारे जानकारी दिने व्यक्तिले आफ्नो परिचय पत्रसहित प्रान्तीय सरकारको वेबसाइटमार्फत आधिकारिक विवरण उपलब्ध गराउनुपर्नेछ ।
गभर्नर काजुहिको ओइगावाले भने यसबाट विदेशीलाई त्रास उत्पन्न गराउने भन्दा अवैध कामबार रोकेर कानुनी राज्यको जिम्मेवारी पूरा गर्न खोजिएको दाबी गरेका छन् ।


