
टोकियो । अमेरिका र इजरायलले हमला गरेसँगै जापान सरकारले इरानमा रहेका आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु गरेको छ । जापानको परराष्ट्र मन्त्रालयका अनुसार मंगलबारदेखि उद्धार कार्य प्रारम्भ गरिएको हो ।
सरकारी तथ्यांकअनुसार इरानमा करिब २०० जापानी नागरिक बसोबास गर्दै आएका छन् । तीमध्ये सुरक्षित स्थानमा जान इच्छुक नागरिकलाई स्थलमार्ग प्रयोग गरी छिमेकी देशतर्फ सार्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
उद्धारमा सहभागी हुनेहरूलाई बुधबारसम्म सुरक्षित गन्तव्यमा पुर्याउने लक्ष्य राखिएको छ ।
जापान सरकारले इरानका लागि यात्रा चेतावनीको सबैभन्दा उच्च स्तर ‘लेभल–४’ जारी गरिसकेको छ । जसअन्तर्गत नागरिकलाई तत्काल देश छोड्न आग्रह गरिएको हुन्छ ।
मन्त्रालयले इरानस्थित सबै जापानी नागरिकसँग सम्पर्क कायम रहेको र हालसम्म कुनै क्षतिको जानकारी प्राप्त नभएको स्पष्ट पारेको छ ।
यसअघि पनि जापानले क्षेत्रीय तनावका कारण इजरायलमा रहेका आफ्ना केही नागरिकलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो । सरकारले आवश्यकता परे थप उद्धार कदम चाल्ने संकेत दिएको छ ।
पश्चिम एसियामा बढ्दो सैन्य तनावबीच विभिन्न देशहरूले आफ्ना नागरिकलाई सावधानी अपनाउन वा क्षेत्र छोड्न आग्रह गर्दै आएका छन् । जापानको पछिल्लो कदम पनि त्यही सुरक्षा चिन्तासँग सम्बन्धित मानिएको छ ।
सरकारले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको र आवश्यक परे थप कदम चाल्ने जनाएको छ ।







