
जापानका कम्पनीमाथि चीनले रक्षा निर्यात प्रतिबन्ध लगाएपछि त्यसले नयाँ हलचल पैदा गरेको छ ।
चीन र जापानबीच गत नोभेम्बरयता सम्बन्धमा चिसोपना आएसँगै चीनले चीनले जापानका २० वटा रक्षा सम्बन्धी संस्थाहरूलाई आफ्नो निर्यात प्रतिबन्धको सूचीमा राखेको छ । जापानले चीनको यो कदमको कडा शब्दमा निन्दा गरेको छ ।
जापान सरकारले चीनको यो कदम ‘असह्य’ र ‘अत्यन्तै खेदजनक’ भएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।
यसबारे जापानको परराष्ट्र मन्त्रालयका अधिकारीहरू र चीनस्थित जापानी दूतावासले बेइजिङमा औपचारिक रूपमा विरोध दर्ता गराएका छन् । चीनले गत जनवरीदेखि नै नागरिक र सैन्य दुवै प्रयोजनमा प्रयोग हुने वस्तुहरूको निर्यातमा कडाई गरेको थियो ।
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ७ नोभेम्बरमा चीनले ताइवानमाथि हस्तक्षेप गरे जापानी सैनिकले समेत प्रतिकार गर्ने अभिव्यक्ति दिएपछि दुई देशबीच तनाव चुलिएको हो ।
ताकाइचीको भनाईसँगै जापान जाने चिनियाँ पर्यटकको संख्या घटेको छ भने जापानबाट चीनले खरिद गर्दै आएका सीफुडसहितका सामग्रीको आयात र जापनमा हुने अत्यावश्यक वस्तुको निर्यातमा रोक लगाएको छ । जसका कारण जापानमाथि आर्थिक दबाबसँगै रक्षा र प्रविधि उद्योगमा समेत असर परेको छ ।
चीनले जापानका केही ठूला कम्पनीलाई समेत प्रतिबन्धको सूचीमा राखेको छ । जापान बिजनेस फेडरेशनले चीनको प्रतिबन्धले व्यावसायिक क्षेत्रमा पार्ने असरप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई उचित पहल गर्न आग्रह गरेका छन् ।







