
ओसाका । जापानको ओशाकामा शनिबार राति भएको चक्कु आक्रमणमा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ भने अन्य दुई किशोर घाइते भएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार भएका २१ वर्षीय र्योगा इवासाकी पक्राउ परेका छन् । उनीमाथि हत्याको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले उनले तीनैजना पीडितलाई चिनेको र आक्रमणअघि विवाद भएको हुनसक्ने अनुमान गरेको छ ।
घटना भएको स्थानमा इवासाकी प्रायः डोटोनबोरीको चर्चित फोटो स्थलमा जाने गरेको पाइएको छ ।
उनले आफ्नो मार्ने उद्देश्य नभए पनि अरूलाई डर देखाउन चक्कु निकालेको तर आफूतिर आउँदै गरेका व्यक्तिको छातीमा लागेको बताएका छन् ।
घटनामा नारा प्रिफेक्चरको तावरामोतोका १७ वर्षीय र्युनोसुके कामादाको मृत्यु भएको छ । उनको छातीसहित शरीरका विभिन्न भागमा चोट लागेको थियो । अन्य दुई १७ वर्षीय किशोरको शरीरको माथिल्लो भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
शनिबार राति करिब ११ः५५ बजे केही व्यक्तिमाथि चक्कु प्रहार भएको सूचना प्रहरीले पाएको थियो । घटना धेरै रेस्टुरेन्ट भएको भवनको पहिलो तलामा भएको बताइएको छ ।
घटनाका समयमा सो स्थानमा करिब ७–८ जना उपस्थित थिए । आइतबार बिहान करिब १०ः१५ बजे नानिवा वार्डको सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले इवासाकीलाई पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले चक्कु समेत बरामद गरेको छ ।







