
टोकियो । जापानमा आइतबार तल्लो सदनका लागि मतदान भइरहेको छ । यो निर्वाचनबाट ठूलो जित निकाल्ने अपेक्षा प्रधानमन्त्री सानाए ताकाइचीको दलले गरेको छ ।
यद्यपि केही भागमा परेको अत्यधिक हिमपातका कारण कतिपय मतदाता घरमै बस्न बाध्य हुन सक्ने आशंका पनि छ ।
मत सर्वेक्षणहरूका अनुसार जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइची नेतृत्वको गठबन्धनले संसद्को तल्लो सदनका ४६५ सिटमध्ये करिब ३०० सिट जित्ने अनुमान गरिएको छ । हाल यो गठबन्धनमा २३३ सिट थियो ।
ताकाइचीले गठबन्धनले बहुमत गुमाएमा पदबाट राजीनामा दिने प्रतिबद्धता जनाएकी छन् ।
६४ वर्षीया ताकाइची अक्टोबरमा एलडीपी नेताको रूपमा चयन भएसँगै प्रधानमन्त्री बनेकी हुन् । आफ्नो लोकप्रियताबीच उनले दुर्लभ मानिने जाडोयामको निर्वाचनमार्फत मतदाताबाट जनादेश खोजेकी हुन् ।
स्पष्ट र कडा बोल्ने शैली तथा मेहनती नेतृको छविका कारण विशेषगरी युवा मतदातामाझ उनको समर्थन बढेको छ । उनले चीनको सामना गर्न सैन्य खर्च बढाएकी छन् भने बिक्री कर (सेल्स ट्याक्स) कटौतीको प्रस्ताव अघि सारेकी छन्, जसले वित्तीय बजारलाई असहज बनाएको छ ।
ताकाइचीले बढ्दो महँगीबाट घरपरिवारलाई राहत दिन खाद्य सामग्रीमा लाग्ने ८ प्रतिशत बिक्री कर दुई वर्षका लागि निलम्बन गर्ने वाचा गरेकी छन् ।
हालैको एक सर्वेक्षणले ३० वर्षमुनिका ९० प्रतिशत भन्दा बढी मतदाता उनको पक्षमा रहेको देखाएको छ । तर यो युवा समूह मतदानमा तुलनात्मक रूपमा कम सहभागी हुने गर्छ । , जबकि एलडीपीको परम्परागत आधार वृद्ध मतदाता हुन् ।
हिमआँधीले संगठित मतदाताको प्रभाव बढ्न सक्ने
आइतबार उत्तरी र पूर्वी क्षेत्रमा ७० सेन्टिमिटरसम्म हिउँ पर्ने पूर्वानुमान गरिएको छ । यसले कतिपय मतदातालाई हिमआँधीसँग जुध्दै मतदान गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । यो फेब्रुअरीमा हुने तेस्रो मात्र युद्धपछिको निर्वाचन हो । सामान्यतया जापानमा चुनाव सौम्य मौसममा गरिन्छ ।
राजधानी टोकियोमै पनि दुर्लभ रूपमा हिउँ परेको छ । जसले साना यातायातमा अवरोध सिर्जना गरेको छ ।
यातायात मन्त्रालयका अनुसार आइतबार बिहानसम्म ३७ रेललाइन, ५८ फेरी सेवा रोकिएका छन् भने ५४ उडान रद्द गरिएका छन् ।
ग्रामीण उत्तरी प्रान्त निइगाताको नागाओकामा सडकछेउ एक मिटरभन्दा बढी हिउँ थुप्रिएको छ । त्यहाँ चुनावी अभियानकर्ताहरूले सम्भावित हिमआँधीबाट जोगिन छिट्टै मतदान गर्न आग्रह गरेका छन् ।
जापानमा तल्लो सदन निर्वाचनमा मतदान प्रतिशत प्रायः ५५ प्रतिशतको हाराहारीमा सीमित रहँदै आएको छ । यदि यसपटक सहभागिता घट्यो भने संगठित मतदाता समूहको प्रभाव झन् बढ्न सक्छ ।
यस्ता समूहमध्ये एक कोमेतो हो, जसले गत वर्ष एलडीपीसँगको गठबन्धन तोडेर मुख्य विपक्षी संवैधानिक लोकतान्त्रिक पार्टी अफ जापानसँग मिलेर एक मध्यमार्गी समूह बनाएको छ ।
कोमेतोको सोका गक्काइ नामक बौद्ध संगठनसँग गहिरो सम्बन्ध छ । जसका देशभर कम्तीमा ८० लाख सदस्य रहेको दाबी छ ।







