
टोकियो । चीनले लुनार न्यु इयर अर्थात् चिनियाँ नयाँ वर्षको लामो बिदाको समयमा आफ्ना नागरिकहरूलाई जापान यात्रा नगर्न चेतावनी दिएको छ।
यो चेतावनी जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले गत नोभेम्बरमा ताइवानसम्बन्धी दिएको अभिव्यक्तिप्रति चीनको असन्तुष्टि कायमै रहेको संकेतका रूपमा लिइएको छ।
चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जापानमा चिनियाँ नागरिकलाई लक्षित अपराध बढेको र भूकम्पको जोखिमसमेत रहेको उल्लेख गर्दै जापानमा गम्भीर सुरक्षा खतरा रहेको दाबी गरिएको छ।
प्रधानमन्त्री ताकाइचीले नोभेम्बरमा यदि चीनले ताइवानमाथि आक्रमण गरेमा जापानले सैन्य प्रतिक्रिया दिन सक्ने अभिव्यक्ति दिएकी थिइन् । यसले बेइजिङलाई आक्रोशित बनाएको थियो।
त्यसपछि चीनले जापानविरुद्ध निर्यात नियन्त्रण, उडान रद्द, र राज्य–नियन्त्रित सञ्चारमाध्यममार्फत कडा टिप्पणी गर्दै आएको छ।
चिनियाँ रक्षा मन्त्रालयले ताइवान विषयमा हस्तक्षेप गरे जापानलाई ‘गम्भीर सैन्य पराजय’ बेहोर्नुपर्ने चेतावनीसमेत दिएको छ।
यसैबीच, एयर चाइना, चाइना इस्टर्न र चाइना साउदर्न एयरलाइन्स लगायत प्रमुख चिनियाँ एयरलाइन्सहरूले जापानसम्बन्धी उडानका टिकट परिवर्तन र रद्द गर्न मिल्ने सुविधा अक्टोबरसम्म विस्तार गरेका छन् ।
डिसेम्बरमा जापान भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या ४५ प्रतिशतले घटे पनि जापानमा समग्र पर्यटक आगमन भने ऐतिहासिक रूपमा उच्च रहेको त्यहाँका पर्यटन मन्त्रीले बताएका छन्।
प्रधानमन्त्री ताकाइचीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए पनि चीनको ‘वन चाइना नीति’ प्रति जापानको अडान दोहोर्याएकी छन्। उनले चीनले आफ्ना भनाइलाई तथ्य विपरीत व्याख्या गरेको दाबी गरेकी छन्।
यता चीन भने जापानबाट टाढा रहँदै दक्षिण कोरिया सँगको पर्यटन र आर्थिक सम्बन्ध सुदृढ बनाउन सक्रिय देखिएको छ।
चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले यसलाई दुई देशबीच बढ्दो सहकार्यको संकेत भनेको छ।







