नेपाल पत्रकार महासंघ जापान शाखाको शपथ तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा थप देशहरुमा समेत शाखा विस्तारको आवश्यका रहेको बताइन् । उनले प्रवासबाट पत्रकारिता गरेपनि पत्रकार आचारसंहिता पालना गर्न सबै पत्रकारलाई आग्रह समेत गरिन् ।
फरक प्रसंगमा बोल्दै अध्यक्ष शर्माले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुनुपर्ने कुरामा जोड दिइन् ।

कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्वअध्यक्ष मोहन घले, निर्वतमान अध्यक्ष शान्त पहरी, नवनिर्वाचित अध्यक्ष रविन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण, प्रमाणपत्र वितरण साथै पदभार हस्तान्तरण भएको थियो ।

छैटौं अधिवेशनबाट श्रेष्ठ अध्यक्ष मनिषा चम्लागाई उपाध्यक्ष, लक्ष्मी शर्मा उपाध्यक्ष, अर्जुन लामिछाने सचिव, विष्णु सापकोटा सहसचिव, फुर्वा शेर्पा सहचिव र निशान रानालाई कोषाध्यक्षमा निर्वाचित गरेको थियो ।

अधिवेसनबाट दिनेश थापा, भवानी भट्ट, रामचन्द्र गिरी, भुवन भण्डारी, दुर्गा प्रसाद आर्चाय र बिनोद ढकाल सदस्यमा निर्वाचित भएका थिए ।

कार्यक्रम निर्वाचन समिति संयोजक खगराज गौतमको अध्यक्षता, सदस्य खड्क गुरुङको स्वागत मन्तव्य तथा सदस्य पुर्ण चलाउनेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैगरी, नेपाल पत्रकार महासंघ जापान शाखाले ‘प्रवासमा जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग’ विषयक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रशिक्षण कार्यक्रमको सहजीकरण गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा काम गर्ने पत्रकारहरूले तथ्यपरक सूचना, पेशागत आचारसंहिता र सामाजिक सञ्जालको जिम्मेवारीपूर्ण प्रयोगमा विशेष ध्यान दिनुपर्ने बताइन् ।

नेपाल पत्रकार महासंघ जापान शाखाद्वारा आयोजित कार्यक्रममा जापानभरिबाट विभिन्न सञ्चारमाध्यममा संलग्न नेपाली पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

यसैबीच नेपाल पत्रकार महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकले संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्वअध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष शान्त पहारी र अध्यक्षका निकटतम प्रतिद्वन्द्वी राजन गौतमलाई सल्लाहकारमा चयन गरेको छ ।

बैठकले महासंघ जापानमा विधिवत रुपमा दर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रकिया अगाडि बढाउन अध्यक्ष रविन्द्र श्रेष्ठ संयोजक, शान्त पहारी र दिपक गौतम सदस्य रहेको समितिलाई जिम्मा दिने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघ जापान शाखालाई अझ सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले नेपालीहरूको बसोबास बढी रहेका तीन क्षेत्रमा ‘मिडिया समन्वय समिति’ गठन गर्ने निर्णय गरिएको छ ।

सोही अनुरूप नागोया क्षेत्रमा भूलबहादुर राना (निशान), ओसाका क्षेत्रमा रामचन्द्र गिरी र हिरोशिमा/फुकुओका क्षेत्रमा भुवन भण्डारीलाई क्षेत्रगत समन्वयकर्ताको जिम्मेवारी प्रदान गरिएको छ ।

बैठकले पत्रकारिता पुरस्कार स्थापना गर्ने, पत्रकार कल्याण कोषको कार्यविधि बनाउनका लागि निवर्तमान अध्यक्ष शान्त पहरी संयोजक, सचिव अर्जुन लामिछाने र कोषाध्यक्ष भुल बहादुर राना (निसान) सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?