
टोकियो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल’ भन्ने मूल नारासहित सन् २०१५ मा स्थापित गल्कोट स्पोर्टस् क्लब टोकियोले आफ्नो छैठौं अधिवेशन आगामी डिसेम्बर ९ तारिख ओकुबोस्थित सोलमारी मुरा हलमा आयोजना गर्ने भएको छ ।
स्थापनाकालदेखि नै खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र समुदायिक एकताको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको क्लब अहिले टोकियोमा रहेको गल्कोटबासी तथा खेलप्रेमी नेपालीहरूको साझा मञ्चका रूपमा सक्रिय छ ।
आगामी अधिवेशनले क्लबलाई नयाँ दिशानिर्देश र रणनीति तय गर्ने महत्वपूर्ण अवसर भएको बताउँदै छैठौं अधिवेशनले अझ सक्षम, संगठित र लक्ष्य–केन्द्रित बनाएर अगाडि बढ्न प्रेरित गर्ने क्लबका अध्यक्ष दुर्गा बहादुर खत्रीले बताए ।
उनले सबै सदस्य र शुभेच्छुकहरूलाई सक्रिय सहभागिताका लागि निमन्त्रणा समेत गरेका छन् ।
महासचिव दिनेश थापाले क्लबका गतिविधि र आगामी योजनाबारे जानकारी गराए । उनले भलिबल प्रतियोगिता र भलिबल खेलाडी केन्द्रित कार्यक्रमलाई विशेष रूपमा संस्थाले स्थापना कालदेखि नै मुख्य प्राथमिकतामा राखेको उल्लेख गर्दै १०औं सिल्वर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता समेत सम्पन्न गरेको बताए ।
संस्थाले खेलमार्फत युवाहरूबीच स्वस्थ प्रतिस्पर्धा, मैत्रीपूर्ण सम्बन्ध र समुदायिक एकता वृद्धि गर्नु प्रमुख लक्ष्य भएको उल्लेख गरे ।
यस वर्षको अधिवेशनले भलिबल प्रतियोगितालाई अझ व्यवस्थित, आकर्षक र सहभागीमैत्री बनाउने दिगो योजना ल्याउने विश्वास व्यक्त गरे । उनले खेलमार्फत स्वस्थ जीवनशैली, खेलप्रेमी युवा नेतृत्व तथा समुदायमा सकारात्मक वातावरण निर्माण गर्न निरन्तर प्रतिबद्ध रहने उल्लेख गरे ।
अधिवेशनको निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन क्लबका संरक्षक लक्ष्मण कार्कीलाई निर्वाचन संयोजकको जिम्मेवारी दिइएको छ । उनले सबै प्रक्रिया नियम, शिष्टाचार र पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढाइने जानकारी दिए ।
सबै सदस्य तथा संस्थाभित्र रहेर कार्यसम्पादन गर्न चाहने जो कोही टोकियोबासी गलकोटेहरुलाई नियमअनुसार र सकारात्मक भावनासहित सहभागी हुन आग्रह समेत गरेका छन् ।
समुदाय र खेलकुदप्रति महत्वपूर्ण योगदान पुर्याउने सदस्य तथा विशिष्ठ व्यक्तिहरुलाई यसपटक विशेष सम्मानसमेत प्रदान गर्ने क्लबले जानकारी दिएको छ ।
क्लबले उनीहरुको निरन्तर समर्पण, योगदान र नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै टोकियो क्षेत्रका स्थानीय नेपाली समुदाय तथा गल्कोटवासीहरूको उल्लेखनीय उपस्थितिमा अधिवेशन भव्य रूपमा सम्पन्न हुने क्लबले विश्वास व्यक्त गरेको छ ।







