जापानमा ३८० किलो तौलको विशाल भालु नियन्त्रणमा

होक्काइदो । जापानको उत्तरी क्षेत्रमा रहेको टोमामाए सहरमा करिब ३८० किलो तौलको एउटा विशाल भालु समातिएको छ । उक्त भालु करिब १.९ मिटर अग्लो र अत्यधिक बलियो रहेको भएको पुष्टि स्थानीय प्रशासनले गरेको छ ।

गत नोभेम्बरदेखि मानव बस्ती नजिकै देखापर्दै आएको उक्त भालुलाई नियन्त्रणमा लिन स्थानीय शिकारी समूहले धातुको विशेष जाल राखेको थियो ।

लामो समयदेखि खोजी गरिँदै आएको भालु अन्ततः जालमा फस्न सफल भएको हो । भालुको पंजाको चौडाइ मात्र १७ सेन्टिमिटर रहेको बताइएको छ ।

जापानमा हालैका महिनाहरूमा भालु देखिने घटनामा उल्लेखनीय वृद्धि आएको छ । अप्रिलदेखि सेप्टेम्बर महिनासम्म देशभर २० हजार भन्दा बढी भालु देखिएका घटना बाहिर आएका छन् । जुन हालसम्मकै सबैभन्दा उच्च संख्या हो ।

भालु र मानिसबीच द्वन्द्व बढ्दै गएपछि स्थानीय प्रशासन र सरकार दुवैले नियन्त्रण तथा सुरक्षा उपाय कडा बनाइरहेका छन् ।

होक्काइदोमा विशेष गरी जाडो नजिकिँदै गर्दा भालुहरू अधिक सक्रिय भएर गाउँ–बस्ती नजिक खाद्यान्न खोज्ने क्रम बढ्ने भएकाले जोखिम अझै बढ्ने विशेषज्ञहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?