
ताइवानबारे जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले गरेको टिप्पणीलाई लिएर चीनले संयुक्त राष्ट्रसंघलाई पठाएको कूटनीतिक पत्रप्रति जापानले कडा आपत्ति जनाएको छ ।
जापानले चीनको दाबीलाई आधारहीन र तथ्यपरक नभएको भन्दै अस्वीकार गरेको हो ।
चीनले गत साता संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र पठाउँदै ताकाइचीका अभिव्यक्तिले क्षेत्रीय तनाव बढाएको तथा जापानले ताइवान मामिलामा सैन्य दखलको संकेत दिएको उल्लेख गरेको थियो ।
चीनले सो टिप्पणीलाई ‘गम्भीर उक्साहट’ भन्दै जापान जाने पर्यटकमाथि यात्रा चेतावनी जारी गर्नुका साथै जापानबाट सीफुड आयातमा रोक लगाएको छ ।
राष्ट्रसंघका लागि जापानका स्थायी प्रतिनिधि कामायुक्त काजुयुकी यामाजाकीले चीनको पत्रलाई खण्डन गर्दै प्रधानमन्त्रीले गरेको अभिव्यक्ति सामान्य सुरक्षा मूल्यांकन भएको र चीनले तथ्यलाई बिकृत रूपमा प्रस्तुत गरेको आरोप लगाएका छन् ।
जापानले देशको रक्षा नीति पूर्णतः रक्षात्मक सिद्धान्तमा आधारित रहेको र ताइवान सम्बन्धी नीति विगतको जस्तै अपरिवर्तित भएको समेत दाबी गरेको छ ।
ताइवानमा सम्भावित सैन्य आक्रमणका परिदृश्यबारे बोल्दै ताकाइचीले त्यस्तो अवस्था आएमा जापानको सुरक्षामा प्रत्यक्ष खतरा उत्पन्न हुन सक्ने दाबी गरेकी थिइन् ।
चीनले यसलाई सैन्य हस्तक्षेपको संकेतका रूपमा लिएको छ भने जापानले यो मूल्यांकन कानुनी संरचना र आत्मरक्षाको अधिकार अनुसार गरिएको बताएको छ ।
यसैबीच, विवाद चर्किएका बेला प्रधानमन्त्री ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच क्षेत्रीय सुरक्षाबारे टेलिफोन वार्ता भएको छ । विश्लेषकहरूका अनुसार ताइवान प्रश्नमा अमेरिका, जापान र चीनबीचको कूटनीतिक प्रतिस्पर्धा अझै गहिरिँदै गएको संकेत देखिएको छ ।
ताइवानलाई लिएर चीन–जापानबीचको ताजा तनावले पूर्वी एसियाली कूटनीतिक समीकरण फेरि तातिएको छ । जापानले चीनसँग संवाद खुला रहेको स्पष्ट पार्दै विवाद समाधानमा संयमता अपनाउन चीनलाई आग्रह गरेको छ ।







