विदेशीका लागि जापानमा अब चर्को भिसा शूल्क

टोकियो । जापान सरकारले आगामी आर्थिक वर्षदेखि विदेशी बासिन्दाको भिसा शुल्क ठूलो मात्रामा बढाउने भएको छ ।

जापानमा बहुसांस्कृतिक नीति बलियो बनाउन बढेको रकम प्रयोग गरिने सरकारी स्रोतको भनाई छ ।

जापानमा विदेशी बासिन्दाको संख्या बढिरहेका बेला यस्तो कदम चालिएको हो । एक वर्ष वा सोभन्दा लामो अवधिको भिसा स्थिति परिवर्तन वा नवीकरण शुल्क हालको ६ हजार येनबाट बढाएर करिब ४० हजार येनसम्म पुग्ने भएको छ ।

यस्तै स्थायी बसोबास भिसाको शुल्क १० हजार येनबाट बढाएर १ लाख येनभन्दा माथि पुर्‍याइने छ । पश्चिमा देशको बराबर भिसा शुल्क बनाउन नयाँ शुल्क लागू गर्ने योजनामा जापान छ ।

यसका लागि अध्यागमन नियन्त्रण कानुन संशोधन गर्न सरकारले अर्को वर्षको संसद्को सामान्य अधिवेशनमा विधेयक पेस गर्नेछ ।

हाल कानुनले यस्तो शुल्कमा १० हजार येनको सीमा तोकेको छ । यसै महिनाको सुरुमा प्रधानमन्त्री सानाए ताकाइचीले विदेशी नीति सम्बन्धी मन्त्रीस्तरीय बैठकमा अन्य ठूला देशहरूसँग मिल्ने गरी भिसा शुल्क बढाउन निर्देशन दिएकी थिइन् ।

गत अप्रिलमा मुद्रास्फीतिका कारण अध्यागमन सेवा एजेन्सीले भिसा शुल्क बढाएको थियो । नवीकरण वा स्थिति परिवर्तनको शुल्क ४ हजारबाट ६ हजार येन र स्थायी बसोबासको शुल्क ८ हजारबाट १० हजार येन पुर्‍याइएको थियो ।

जुन महिनासम्ममा जापानमा विदेशी बासिन्दाको संख्या कीर्तिमानी ३९ लाख ५६ हजार ६१९ पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?