
जापानकी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले एक ऐतिहासिक कदम चालेको छ ।
जापान सरकारले पहिलोपटक प्रवासी नीति मन्त्री (Minister for Immigration Coordination) पद स्थापना गरेको घोषणा गरेको छ ।
जापान टाइम्सको समाचारअनुसार सरकारले सिर्जना गरेको नयाँ पदमा सांसद ओनोदा क्योको (Onoda Kyoko) लाई नियुक्त गरिएको छ ।
यो मन्त्रालयले जापानमा रहेका विदेशी कामदार, विद्यार्थी र परिवारजनहरूका लागि नीति समन्वय र सुधार गर्ने सरकारले जनाएको छ ।
जस अनुसार अबदेखि न्याय मन्त्रालय, श्रम मन्त्रालय र शिक्षा मन्त्रालयबीच समन्वयात्मक र एकीकृत रूपमा समन्वय गरिनेछ । यसको उद्देश्य प्रशासनिक प्रक्रिया सहज, छिटो र पारदर्शी बनाउनु हो ।
विशेषज्ञहरूका अनुसार यो कदमले जापानमा बस्ने विदेशी नागरिकहरूका आवाजलाई सरकारी स्तरमा सुनिने बाटो खुलाउनेछ । जापानमा बसोबास गरिरहेका प्रवासी समुदायले समेत यो निर्णयलाई सकारात्मक रूपमा लिएका छन् ।
विभिन्नसंघ–संस्थाहरूले नीतिगत परिवर्तन मात्र नभई यसको कार्यान्वयनमा पारदर्शिता र निरन्तरता आवश्यक रहेकोमा जोड दिएका छन् ।
यो नयाँ मन्त्रालयले जापानलाई आगामी वर्षहरूमा एक समावेशी र अन्तरसांस्कृतिक समाज बनाउने दिशामा अघि बढाउने विश्वास गरिएको छ ।







