सानाए ताकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

सानाए ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्रीका रुपमा निर्वाचित भएकी छन् । जापानको संसदका दुवै सदनमा भएको मतदानमा बहुमत पाएपछि ताकाइची जापानको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् ।

दक्षिणपन्थी नेता ६४ वर्षीय ताकाइचीलाई जापानको ‘आइरन लेडी’ समेत भनिन्छ । तेस्रो पटकको प्रयासमा उनी जापानको प्रधानमन्त्री बनेकी हुन् । ताकाइची सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्ष निर्वाचित भएसँगै उनी प्रधानमन्त्री बन्ने निश्चित भएको थियो ।

उनलाई रोक्न विपक्षी दलहरु एकजुट भए पनि प्रयास सफल हुन सकेन । जापानमा एलडीपीले पछिल्लो पाँच वर्षमा चौथो पटक प्रधानमन्त्री फेरेको हो ।

एलडीपीको कट्टरपन्थी समूह निकट सानाए ताकाइची पूर्व प्रधानमन्त्री शिन्जो आबेको निकट मानिन्थिन् । कुनै समयकी टेलिभिजन प्रस्तोता समेत रहेकी उनले यसअघि सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

उनका अघि सुस्त अर्थतन्त्रलाई तीव्रता दिनु, अमेरिका–जापानबीच चलिरहेको संघर्षलाई सम्हाल्नेदेखि विभाजित अवस्थामा रहेको सत्तारुढ पार्टीलाई एकजुट बनाउने चुनौती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?