
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
पछिल्लो समयमा प्रधानमन्त्री इशिबालाई पद छाड्न र सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नयाँ नेता चयनको माग उठिरहेका बेला प्रधानमन्त्री इशिबाले राजीनामाको घोषणा गरेका हुन् ।
गत जुलाईमा भएको निर्वाचनमा एलडीपीले हार भोगेपछि माथिल्लो सदनमा बहुमत गुमाएको छ ।
इशिबाले गत वर्षको अक्टोबरमा मात्रै प्रधानमन्त्रीको पद सम्हालेका हुन् । उनले महंगी नियन्त्रणसँगै पार्टीलाई बलियो बनाउने बाचा गरेका थिए । यद्यपि यो बिचमा एलडीपीका केही नेतामाथि राजनीतिक घोटालामा सामेल भएको आरोप लागेको थियो ।
उनले सत्ता सम्हालेको केही समयपछि भएको निर्वाचनमा एलडीपी र गठबन्धनमा उसको सहयोगी दल कोमेइताले तल्लो सदनमा बहुमत गुमाएको थियो । गत जुलाईमा माथिल्लो सदनको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन बहुमत ल्याउन असफल भएको थियो ।
योसँगै उनीमाथि चुनावी परिणामको जिम्मेवारी लिन दबाब बढिरहेको थियो ।
योसँगै एलडीपीले सोमबार नयाँ नेतृत्वको चुनाव गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न लागेका बेला आइतबार नै इशिबाले राजीनामाको घोषणा गरेका हुन् । योसँगै अब नयाँ नेता चयनको बाटो खुलेको छ ।







