अनलाइन तीज गीत/नृत्य प्रतियोगितामा सिर्जना नगरकोटी प्रथम

कुमामोतो नेपाली समाजले आयोजना गरेको हरितालिका तीज २०८२ को शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रममा सञ्चालन गरिएको अनलाइन तीज गीत/नृत्य प्रतियोगितामा सिर्जना नगरकोटी प्रथम भएकी छन् ।

यसैगरी संस्कृति मगर र अन्सुमा परियारको जोडी दोस्रो भए भने आशा बलाल तेस्रो बन्न सफल भइन् । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो स्थान हासिल गर्नेलाई १० हजार जापानी येन नगद पुरस्कार, होक्काइदो ‘घी’, र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

निर्णायक मण्डलमा समाजकी महिला उपाध्यक्ष रूपा नेपाली सांस्कृतिक संयोजक, सल्लाहकार सुरेन्द्र डंगोल र नायिका रागिनी खड्गी थिए । प्रतियोगिताको परिणाम दर्शकको भोट र निर्णायकको अंकका आधारमा तय गरिएको निर्णायक सुरेन्द्र डंगोलले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा.हरि देवकोटाले विजेता तथा सहभागीहरूलाई बधाई दिँदै मञ्च ठूलो वा सानो जस्तो भए पनि सम्मान गर्नुपर्ने बताउँदै आजका सामान्य कलाकारमा कुनै दिन देश चिनाउने क्षमता हुने बताए ।

यसपटकको प्रतियोगिताको प्रथम पुरस्कार एनआरएनए जापानका अध्यक्ष सुभास लामिछाने, दोस्रो पुरस्कार स्पाइस आरोमा रेस्टुरेन्ट र तेस्रो पुरस्कार आसो फुटबल क्लबले प्रायोजन गरेका थिए ।

होक्काइडो ‘घी’ र येहे रेमिट सह–प्रायोजक थिए । येहे रेमिटद्वारा सञ्चालित लक्की ड्रमार्फत विभिन्न सहभागीहरूले २० हजार येन बराबरको नगद पुरस्कार र होक्काइडो ‘घी’ समेत जितेका थिए ।

कुमामोतो नेपाली समाजका अध्यक्ष रोशन भट्टराईले जापानमा नेपाली समुदायको संख्यामा तीव्र वृद्धि भइरहेकाले यहाँ आइपर्ने अनेक समस्याहरूको समाधान गर्न समाज र संगठनहरूको भूमिका अत्यावश्यक हुनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?