जापानमा १ करोडभन्दा कम परिवारमा मात्रै बालबच्चा !

जापानमा सन् २०२२ मा बालबालिकासहितका घर परिवारको संख्या १ करोडभन्दा तल झरेका छ । यो सन् १९८६ मा तुलनात्मक रुपमा तथ्यांक राख्न सुरु गरेपछिकै सबैभन्दा कम हो ।

जापान सरकारको यो तथ्यांकले जापानमा द्रुत रुपमा घटिरहेको जनसंख्यालाई इंगित गरेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार १८ वर्षमुनिका बालबालिका भएका घरपरिवार ९९ लाख १७ हजार रहेको छ । यो सन् २०१९ को तथ्यांकको तुलनामा १८.३ प्रतिशतले कम हो ।

प्रधानमन्त्री फुमियो किशिदाको सरकारले बाल हेरचाह नीतिलाई प्राथमकितामा राखेको छ । जसले बुढ्यौली जनसंख्या र घट्दो जन्मदरलाई उल्टाउन बाल पालनपोषणका नयाँ उपायहरु समेत जुनमा सार्वजनिक गरेको थियो ।

जापानमा हाल एक बच्चा भएका परिवारको संख्या ४९.३ प्रतिशत, दुई बच्चा भएका परिवार ३८ प्रतिशत तथा तीन वा सोभन्दा बढी बच्चा भएका परिवारको संख्या १२.७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

यस वर्षको सुरुमा नै जारी गरिएको एक तथ्यांकअनुसार सन् १८९९ मा तथ्यांक राख्न सुरु गरिएपछि पहिलो पटक सन् २०२२ मा जापानमा जन्मिएका शिशुको संख्या ८ लाखभन्दा तल झरेको देखाएको थियो ।

गत वर्षको जुन र जुलाईको बीचमा गरिएको सर्वेक्षणले कुल २ लाख ३ हजार ८१९ घरपरिवारबाट प्रतिक्रियाहरु संकलन गरेको थियो । यी परिवाहरुमध्ये ५ हजार ४९९ जनाले विशेष रुपमा वृद्ध हेरचाहसँग सम्बन्धित जवाफहरु पनि दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?