जापान पुगेर ओबामाले भने, ‘हिरोसिमालाई बिर्सिन्न’

OBAMA JAPAN

टोकियो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिरोसिमालाई आफूले कहिल्यै नबिर्सिने बताएका छन् ।

दोस्रो विश्वयुद्धमा अमेरिकाले परमाणु बम खसालेको जापानको हिरोसिमा पुगेर परमाणु बम पीडितको स्मरणमा बनाइएको पिस मेमोरियल पार्कमा पुष्पगुच्छा अर्पण गर्दै ओबामाले आफूले ६ अगस्ट १९४५ लाई कहिल्यै पनि नभुल्ने बताएका हुन् ।

जापानको हिरोसिमामा अमेरिकाले दोस्रो विश्वयुद्धका क्रममा खसालेको परमाणु बमबाट करिब १ लाख ४० हजार मानिसको ज्यान भएको थियो । दोस्रो विश्वयुद्धपछि जापानको हिरोसिमा भ्रमण गर्ने ओबामा पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बनेका छन् ।

यसअघि पूर्व राष्ट्रपति जिम्मी कार्टरले पनि हिरोसिमाको भ्रमण गरेका थिए । तर उनी हिरोसिमा भ्रमण गर्दा राष्ट्रपति पदमा बहाल थिएनन् ।

हिरोसिमा पुगेका ओबामाले हमलाका लागि कुनै प्रकारको पश्चाताप वा माफी भने मागेनन् । हमलामा बाँचेका एक व्यक्तिकी छोरीले भनिन्, ‘मानिसहरु यो पीडालाई पुस्तापुस्तादेखि झेलिरहेका छन् ।’

अमेरिकाले दोस्रो विश्वयुद्धका क्रममा ६ अगस्ट १९४५ र ९ अगस्ट १९४५ मा लगातार जापानको हिरोसिमा र नागासाकीमा क्रमशः लिटिल ब्वाई र फ्याटमेन नामका परमाणु बम खसालेको थियो । नागासाकीमा गराएको परमाणु बम विस्फोटमा करिब ७० हजारको मृत्यु भएको थियो ।

ओबामाले आफ्नो जापान भ्रमणका क्रममा कुनै समयका कट्टर विरोधी राष्ट्र अहिले मजबुत साझेदार भएको प्रमाण भएको बताए ।

ओबामा ‘जी–७’ को सम्मेलनमा भाग लिनेक्रममा जापान पुगेका हुन् । यसअघि अघिल्लो महिना अमेरिकी विदेशमन्त्री जोन केरीले पनि जापानको हिरोसिमा भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?