
टोकियो । नेपाल हाउस निर्माणका लागि खरिद प्रक्रियामा रहेको जग्गा सम्बन्धी अध्ययन तथा अनुगमन प्रतिवेदन गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् जापानलाई हस्तान्तरण गरिएको छ।
एसिया प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेलको संयोजकत्वमा गठित अध्ययन तथा अनुगमन समितिले अक्टोबर ३० मा परिषद्लाई औपचारिक रूपमा प्रतिवेदन बुझाएको जनाएको छ।
जग्गाको वास्तविक अवस्था, कानुनी तथा प्राविधिक पक्ष र सम्भावित अवसर एवं चुनौती बारे तथ्यगत अध्ययन गरी स्पष्ट प्रतिवेदन पेस गर्ने उद्देश्यले समिति गठन गरिएको थियो। समितिलाई अक्टोबर ३० भित्र अध्ययन तथा अनुगमन सम्पन्न गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।
समितिका अनुसार सम्बन्धित निकाय तथा सरोकारवाला पक्षसँग समन्वय र परामर्श गर्दै स्थलगत अध्ययन, छानबिन तथा अनुगमनबाट प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार गरिएको हो। प्रतिवेदनका निष्कर्ष तथा विस्तृत विवरण भने विज्ञप्तिमा खुलाइएको छैन।
समितिले प्रतिवेदन प्राप्त भएको मितिले १० दिनभित्र आवश्यक अध्ययन, समीक्षा र छलफल गरी आम नेपाली समुदायको जानकारीका लागि सार्वजनिक गर्न परिषद्लाई आग्रह गरेको छ। कार्यसमिति र अनुगमन समितिको संयुक्त पत्रकार सम्मेलनमार्फत जापानवासी नेपाली समुदायलाई जानकारी गराइनेसमेत विज्ञप्तिमा उल्लेख छ।
नेपाल हाउसलाई जापानवासी नेपालीहरूको साझा सपना, गौरव र दीर्घकालीन संस्थागत सम्पत्तिसँग जोडिएको विषय भन्दै समितिले निर्माण अभियानलाई पारदर्शी, विश्वसनीय, सुरक्षित र दीर्घकालीन रूपमा सफल बनाउनु आफ्नो उद्देश्य रहेको जनाएको छ।
प्रतिवेदनमा समेटिएका तथ्य, विवरण तथा सुझावले संस्थालाई उचित निर्णय लिन सहयोग पुग्ने समितिको विश्वास छ। समितिले अध्ययन तथा अनुगमनका क्रममा सहयोग, समन्वय, सुझाव र जानकारी उपलब्ध गराउने सम्बन्धित निकाय तथा सरोकारवालाप्रति आभारसमेत व्यक्त गरेको छ।

