काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि जापानी कम्पनी डिस्कभरी सपोर्ट कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले अर्थ मन्त्रालयमा आयोजित औपचारिक कार्यक्रममा ग्लोबल आईएमई बैंकको चेकमार्फत उक्त रकम हस्तान्तरण गरेको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कम्पनीका प्रतिनिधिले सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।
नेपाली समुदायप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको डिस्कभरी सपोर्टले विपद्को कठिन घडीमा बाढीपीडितको राहत तथा उद्धारमा योगदान पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरेको जनाएको छ।
डिस्कभरी सपोर्ट कम्पनीका प्रमुख जापानी नागरिक मासुई सोता नेपाली समुदायप्रति उदार भावना राख्ने व्यवसायीका रूपमा परिचित छन्। उनले जापानमा रहेका नेपाली समुदायका सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिमा निरन्तर आर्थिक एवं अन्य सहयोग गर्दै आएका छन्।
गत वर्ष मात्र कम्पनीले एभरेस्ट फेस्टिभल, दशैं फेस्टिभल तथा चर्चित नेपाली ब्यान्ड नेपथ्यको जापान कन्सर्टलगायत विभिन्न कार्यक्रमलाई सहयोग गरेको थियो।
नेपालमा होटल तथा रेष्टुरेन्ट व्यवसायसमेत सञ्चालन गर्दै आएको डिस्कभरी सपोर्टले जापानस्थित नेपाली समुदायका विविध सामाजिक र सांस्कृतिक गतिविधिमा सहकार्य गर्दै आएको छ। नेपाल र जापान दुवै देशमा व्यवसाय गर्दै आएका मासुई सोताले आगामी दिनमा पनि नेपाली समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।
जापानी नागरिक तथा व्यवसायीबाट विपद्का बेला नेपाली पीडितका लागि प्राप्त यस्तो सहयोगले नेपाल–जापानबीचको जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।


