जापानका १६ हजार ५ सय फ्यामिली मार्टमा नेपालका बाढीपीडितका लागि सहयोग संकलन अभियान

|

टोकियो । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि जापानको प्रमुख कन्भिनियन्स स्टोर सञ्जाल फ्यामिलीमार्टले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ।

‘नेपालमा आएको भीषण बाढी विपद् सहायता रकम संकलन’ नाम दिइएको उक्त अभियान सेप्टेम्बर २ देखि १५ तारिखसम्म सञ्चालन हुने फ्यामिली मार्टले आफ्नो आधिकारिक वेबसाइटमार्फत जनाएको छ।

अभियानअन्तर्गत जापानभर सञ्चालनमा रहेका करिब १६ हजार ५ सय फ्यामिलीमार्ट स्टोरमा सहायता रकम संकलन बाकस राखिएको छ। नेपालका बाढी प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहयोग पुर्‍याउने उद्देश्यले राखिएका ती बाकसमा इच्छुक व्यक्तिले आफ्नो क्षमताअनुसार रकम सहयोग गर्न सक्ने छन्।

अभियानबाट संकलित रकमको व्यवस्थापन तथा राहत सहयोगका लागि संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम संघ प्रमुख सहयोगी संस्थाका रूपमा संलग्न छ। त्यस्तै, बालबालिकाको क्षेत्रमा कार्यरत सेभ द चिल्ड्रेन जापान पनि अभियानसँग जोडिएको छ।

नेपालमा आएको प्राकृतिक विपद्का कारण प्रभावित परिवारको जनजीवन कठिन बनेको अवस्थामा जापानमा सुरु गरिएको यस अभियानले नेपालप्रति अन्तर्राष्ट्रिय ऐक्यबद्धता र मानवीय सहयोग थप जुटाउने अपेक्षा गरिएको छ।

जापानमा रहेका नेपाली समुदाय, नेपालप्रति सद्भाव राख्ने जापानी नागरिक तथा सम्पूर्ण शुभेच्छुकलाई आफ्नो क्षमताअनुसार सहयोग गरी बाढीपीडितको उद्धार तथा राहतमा साथ दिन आग्रह गरिएको छ।