टोकियो । नेपाली मूलकी १७ वर्षीया अदिति पौडेल जापानको पहिलो ‘लिटरेसी एम्बेसडर’ अर्थात् साक्षरता सद्भावना दूत नियुक्त भएकी छन्।
टोकियोमा कक्षा १२ मा अध्ययनरत पौडेललाई अस्ट्रेलियामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ‘वर्ल्ड लिटरेसी फाउन्डेसन’ले जापानको प्रतिनिधित्व गर्ने गरी नियुक्त गरेको हो। फाउन्डेसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एन्ड्र्यु केका अनुसार १२ वर्षदेखि सञ्चालन भइरहेको कार्यक्रममा जापानबाट सद्भावना दूत चयन भएको यो पहिलो पटक हो।

जापानमा जन्मिएकी पौडेलले आफ्नो बाल्यकालको केही समय नेपालमा बिताएकी थिइन्। नेपाली र जापानी भाषा तथा संस्कृति बीच हुर्किएकी उनको पुस्तकप्रतिको रुचि सानै देखि विकास भएको थियो। विद्यालय जानु अघि नै हजुरबुबाले दिएको देवनागरी लिपिमा प्रकाशित पत्रिका पढ्न सकेको क्षणलाई उनले आफ्नो पठन यात्राको प्रेरणादायी स्मरणका रूपमा लिएकी छन्।
वर्ल्ड लिटरेसी फाउन्डेसनको यस कार्यक्रममा अहिले १०१ देशका १६ देखि २५ वर्ष उमेर समूहका करिब ९ सय युवा सहभागी छन्। कार्यक्रमले युवामार्फत पुस्तक पठन, शिक्षा र साक्षरताको महत्त्वबारे समुदायमा चेतना विस्तार गर्ने उद्देश्य राखेको छ।
दुई देश बीच भाषा र संस्कृतिको अनुभव सँगालेकी पौडेलको नियुक्तिले जापानस्थित नेपाली समुदायलाई समेत गौरवान्वित बनाएको छ। उनले युवालाई पुस्तक पढ्न प्रेरित गर्दै साक्षरता अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

