
काठमाडौं । जापानमा पाँच वर्षदेखि ट्राभल व्यवसाय गर्दै आएको रेड बड ट्राभल्सले नेपालमा पनि सेवा सुरु गरेको छ। कम्पनीले काठमाडौंको दरबारमार्गमा शाखा सञ्चालनमा ल्याएको हो।
रेड बड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण रिमालका अनुसार नेपाल शाखाबाट हवाई टिकटसँगै जापान, इन्डोनेसिया, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका गन्तव्यका लागि टुर प्याकेज उपलब्ध गराइनेछ।
कम्पनीले जापानबाट युरोप, मलेसिया, सिंगापुर लगायतका गन्तव्यमा पनि टुर प्याकेज सञ्चालन गर्दै आएको रिमालले बताए। उनका अनुसार रेड बडले अस्ट्रेलियामा समेत सेवा विस्तार गरिसकेको छ भने यसै वर्ष यूएई र स्पेनमा पनि सेवा सुरु गर्ने तयारी छ।
कम्पनीले अब जापानी पर्यटकलाई नेपाल भित्र्याउने योजना समेत अघि बढाएको छ। त्यसका लागि जापानमा आवश्यक लाइसेन्स लिने प्रक्रिया अन्तिम चरणमा पुगेको रिमालले जानकारी दिए।
‘हामीले जापानबाट युरोप, मलेसिया, सिंगापुरलगायतका देशका लागि टुर प्याकेज सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘अब जापानी पर्यटकलाई नेपाल ल्याउने तयारीमा छौं। त्यसका लागि आवश्यक लाइसेन्सको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’
नेपालमा शाखा सञ्चालनसँगै हवाई टिकट र आउटबाउन्ड टुर प्याकेज विस्तार गर्नुका साथै नेपाल–जापान बीच पर्यटक आवागमन बढाउने तर्फ केन्द्रित हुने कम्पनीले जनाएको छ।

