तमु धीं जापानद्वारा आयोजित रोधी साँझका लागि चर्चित गायक निमा रुम्बा टोकियोमा

|

टोकियो । जापानको पुरानो तथा प्रतिष्ठित सामाजिक संस्था तमु धीं जापानद्वारा आयोजित २८औँ रोधी साँझ–२०२६ का लागि चर्चित नेपाली गायक निमा रुम्बा टोकियो आइपुगेका छन्।

करिब तीन दशकदेखि जापानमा नेपाली कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा सक्रिय तमु धीं जापानले आगामी अगस्ट ९ (आइतबार) भव्य रूपमा ‘२८औँ रोधी साँझ–२०२६’ आयोजना गर्ने तयारी गरेको छ।

आयोजकका अनुसार बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको छ।

उक्त पत्रकार सम्मेलनमा प्रमुख अतिथि एनआरएनए आईसीसीका उपाध्यक्ष रोविन शेरचन, कलाकार निमा रुम्बा, तमु धीं जापानका संरक्षक ईश्वर गुरुङ लगायतले कार्यक्रमको महत्व र उद्देश्यबारे आफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा निमा रुम्बा एन्ड मर्करी ब्यान्डको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै, मेरो भ्वाइस युनिभर्स का विजेता प्रथम गुरुङ सहित तमु धीं जापान सांस्कृतिक परिवारद्वारा विविध आकर्षक सांस्कृतिक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ।

तमु समुदायको मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा तथा सांस्कृतिक एकतालाई अझ सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो।

उक्त कार्यक्रमलाई सफल बनाउन आयोजकले जापानस्थित सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई सहयोग गरिदिन अनुरोध गरेको छ।