जापानका पौडी खेल्ने समुद्री किनारको संख्या ३० प्रतिशतले घट्यो

|

टोकियो । जापानमा गर्मीयाममा खुला गरिने पौडी खेल्ने समुद्री किनारहरूको संख्या विगत तीन दशकमा करिब ३० प्रतिशतले घटेको एक ट्राभल एसोसिएसनको अध्ययनले देखाएको छ ।

अत्यधिक गर्मीका कारण आगन्तुकहरू घट्दै जानु र समुद्री किनारहरू खुम्चिँदै गएका कारण स्थानीय निकायहरूले यस्ता समुद्री किनारा सञ्चालन नगर्ने विकल्प रोजिरहेका छन् ।

जापान ट्राभल एण्ड टुरिजम एसोसिएसनका अनुसार सन् १९९३ मा यस्ता समुद्री किनारहरूको संख्या १ हजार ३७९ थियो । जुन सन् २००० को दशकको सुरुवाति समयसम्म घटेर १ हजार ३ सयको आसपासमा स्थिर रह्यो ।

कोभिड–१९ महामारीका कारण सन् २०२२ मा यो संख्या पहिलोपटक १ हजार भन्दा तल झरेको थियो भने सन् २०२४ मा ९६९ मा सिमित भयो ।

जापानमा हालैका वर्षहरूमा अत्यधिक तातो गर्मी भइरहेको छ । जसले गर्दा मानिसहरू घामले डढ्ने (सनबर्न) र हिटस्ट्रोक (लु लाग्ने) समस्याबाट बच्न समुद्री किनारमा जानबाट तर्सिरहेका छन् ।

जापानी कानुनअनुसार, स्थानीय सरकारहरू र बीच–हट्स (किनारमा राखिने पसल/टहरा) सञ्चालकहरूद्वारा गठित बीच म्यानेजमेन्ट एसोसिएसनहरूले पौडी खेल्ने किनारहरू खोल्नका लागि प्रत्येक वर्ष प्रिफेक्चरल सरकारहरूसँग स्वीकृतिको लागि आवेदन दिनुपर्छ ।

एसोसिएसनको यो तथ्याङ्क प्रिफेक्चर र स्थानीय निकायहरूबाट संकलन गरिएको डाटामा आधारित छ ।

स्थानीय अधिकारीहरूले लाइफगार्ड (उद्धारकर्ता) हरूको अभाव, घामबाट बच्ने चाहनाका कारण समुद्री किनारमा जानेहरूको संख्यामा आएको कमी र भित्री मनोरञ्जनात्मक गतिविधिहरूको विविधीकरणका कारण सञ्चालकहरूका लागि न्यून नाफा भएका कारण समुद्री किनाराका गतिविधि कम भएको उल्लेख गरेका छन् ।

उदाहरणका लागि टोकियो नजिकैको कानागावा प्रिफेक्चरमा ‘मिउरा काइगान’ पौडी किनारको सञ्चालन खर्चको केही हिस्सा बेहोर्ने एसोसिएसन आर्थिक संकटमा परेपछि सन् २०२४ मा सो किनार नखोल्ने निर्णय गर्‍यो ।

पश्चिमी जापानको ओसाका प्रिफेक्चरमा रहेको ‘हाकोत्सुकुरी’ पौडी किनार पनि सन् २०२४ मा खोलिएन ।

कतिपय अवस्थामा भने टोकियोको उत्तर–पूर्वमा रहेको इबाराकी प्रिफेक्चरको ‘ओताके काइगान होकोता’ पौडी किनारमा समुद्री किनार खुम्चिनु मुख्य कारक थियो ।

सन् १९५० को दशकको मध्यदेखि १९७० को दशकको सुरुवाति समयसम्मको जापानको उच्च–आर्थिक वृद्धिदरको युगमा निर्माण कार्यका लागि बालुवा उत्खनन गरिएका कारण नदीहरूले तटीय क्षेत्रसम्म बालुवा बगाएर ल्याउन छाडेका थिए ।

ब्रेकवाटर्स (छाल रोक्ने पर्खाल) को निर्माणका कारण समुद्री बहावमा आएको परिवर्तन पनि यसको अर्को सहयोगी कारक थियो ।

स्थानीय अधिकारीहरूले तोकिएका बाहेकका अन्य समुद्री किनारहरूमा पौडी नखेल्न सल्लाह दिएका छन् । किनभने त्यस्ता ठाउँहरूमा कुनै पनि लाइफगार्ड वा सुपरिवेक्षकहरू ड्युटीमा खटिएका हुँदैनन् ।