टोकियो । अकिता प्रिफेक्चरको अकिता सहरमा प्रहरीले एक २९ वर्षीय बेरोजगार पुरुषलाई पक्राउ गरेको छ ।
उनलाई करिब साढे चार महिनाको अवधिमा अकिता–हिगासी प्रहरी चौकीमा झण्डै २० हजार पटक ‘साइलेन्ट कल’ (फोन गरेर नबोल्ने) र अन्य झन्झटिलो फोनहरू गरेर प्रहरीको कार्यमा बाधा पुर्याएको आशंकामा पक्राउ गरिएको हो ।
क्योदो न्यूजका अनुसार सुन्तारो तासिरोले गत वर्ष डिसेम्बर १२ देखि यस वर्ष अप्रिल ३० को बीचमा दैनिक ८ सय पटकसम्म फोन गर्ने गरेका थिए । जसमध्ये अधिकांश फोनहरूमा उनी बोल्दैनथे ।
कतिपय अवस्थामा भने उनले फोन उठाउने प्रहरी अधिकारीहरूलाई अपशब्द प्रयोग गरी गालीगलौज समेत गर्ने गरेका थिए ।
प्रहरीका अनुसार तासिरो र प्रहरी चौकीबीच यसअघि कुनै पनि प्रकारको विवाद वा झगडा भएको अहिलेसम्म खुल्न सकेको छैन ।


