टोकियो। गत महिना गुन्मा प्रिफेक्चरको सिबुकावा सहरमा रहेको एउका नर्सिङ केयर फेसिलिटी (वृद्धाश्रम/हेरचाह केन्द्र) बाट आफ्नी ८२ वर्षीया आमालाई लगेर हत्या प्रयास गरेको आशंकामा एक ५५ वर्षीया महिलालाई पक्राउ गरिएको छ ।
टिभी आसाहीका अनुसार हिरोयो ताबेईमाथि जुन १९ का दिन आफ्नी आमा तोसिकोलाई कारमा राखेर माएबासी सहरको एउटा नदी किनारमा लगेको र अज्ञात तरिका अपनाई श्वासप्रश्वासमा अवरोध पुर्याएको आरोप लागेको प्रहरीले जनाएको छ ।
घटनाकै दिन ताबेईकी बहिनीले प्रहरीको आपतकालीन नम्बरमा फोन गरेर घटनाबारे जानकारी दिएकी थिइन् ।
प्रहरी अधिकारीहरू घटनास्थलमा पुग्दा ताबेई र तोसिको दुवैजना अचेत अवस्थामा ढलिरहेका फेला परेका थिए । दुवैलाई तत्काल अस्पताल लगिएकोमा पछि तोसिकोको मृत्यु भएको थियो । ताबेईलाई कुन कारणले अस्पताल भर्ना गरिएको थियो भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।
अस्पतालबाट डिस्चार्ज भएपछि प्रहरीले शुक्रबार ताबेईलाई पक्राउ गरेको हो र नदी किनारमा के भएको थियो भन्नेबारे उनीसँग थप सोधपुछ गरिरहेको छ ।


