जापानमा थोक विक्रेतालाई चामल बिक्री रेकर्ड स्तरको न्यून बिन्दुमा

|

टोकियो । जापानमा सन् २०२५मा कृषि सहकारी तथा कृषकहरूबाट धान संकलन गर्ने समूहहरूले थोक बिक्रेताहरूलाई गर्ने चामल बिक्री मे महिनाको अन्त्यसम्ममा हालसम्मकै न्यून बिन्दुमा झरेको छ ।

कृषि मन्त्रालयका अनुसार थोक बिक्रेतालाई गर्ने बिक्री १.३२ मिलियन अर्थात् १३ लाख २० हजार टनसम्म झरेको छ । यो परिमाण अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले कम हो ।

सरकारले बजारमा पठाएको सस्तो सञ्चित चामल र आयातित चामलका कारण मागमा तीव्र गिरावट आएको हो ।

कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका अनुसार मे महिनाको अन्त्यसम्ममा निजी क्षेत्रसँग रहेको चामलको मौज्दात करिब ५१ प्रतिशतले बढेर २.२३ मिलियन (२२ लाख ३० हजार) टन पुगेको छ । यो मौज्दात सन् २०१४ मा कायम भएको ऐतिहासिक उच्च विन्दुको बराबरी हो ।

सरकारले गत वर्षदेखि खुद्रा बिक्रेताहरूसँग सिधा सम्झौता गरेर समेत आफ्नो सञ्चित चामल बजारमा पठाउन थालेपछि चामलको खुद्रा मूल्य घट्दै गइरहेको छ । यदि थोक बिक्रेताहरूले आफ्नो मौज्दात घटाउनका लागि चामलमा छुट दिन थालेमा मूल्य अझै घट्न सक्ने अनुमान गरिएको छ ।

मन्त्रालयका अनुसार देशभरका करिब १ हजार वटा सुपरमार्केटहरूमा ५ केजीको चामलको बोराको औसत खुद्रा मूल्य २९ डिसेम्बर, २०२५ देखि जनवरी ४ को हप्तामा ४ हजार ४१६ येनको उच्च विन्दुमा पुगेको थियो । हाल घटेर जुन २१ मा सकिएको हप्तामा ३ हजार ५९० येन कायम भएको छ ।

मन्त्रालयले गत मार्च महिनामा जुन महिनाको अन्त्यसम्ममा निजी क्षेत्रको चामल मौज्दात कीर्तिमानी २.३४ मिलियन टनसम्म पुग्ने प्रक्षेपण गरेको थियो ।

हालै सार्वजनिक गरिएको तथ्याङ्कमा साना थोक बिक्रेता वा किसानहरूसँग रहेको चामल समावेश नगरिएको भए तापनि यो परिमाण उपयुक्त मानिने मौज्दात स्तर (१८ देखि २० लाख टन) भन्दा निकै बढी हो ।