टोकियो। पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिलसँग २–१ ले पराजित भएपछि जापान विश्वकपबाट बाहिरिएको छ ।
गएराति भएको अन्तिम–३२ को खेलमा ग्याब्रिएल मार्टिनेलीले इन्जुरी समयको अन्तिमतिर निर्णायक गोल गरेपछि ब्राजिल २–१ ले विजयी भयो ।
दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मार्टिनेलीले इन्जुरी समयको छैटौं मिनेटमा गोल गरेका हुन् ।
ब्राजिलले अब आइतबार न्यू जर्सीको इस्ट रदरफोर्डमा आइभोरी कोस्ट र नर्वेबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि, खेलको ५६ औं मिनेटमा ग्याब्रिएल मागाल्हासको पासमा क्यासेमिरोले हेडमार्फत गोल गर्दै ब्राजिललाई १–१ को बराबरीमा ल्याएका थिए ।
खेलको २९ औं मिनेटमा काइसु सानोले मिडफिल्डमा ब्राजिलको गलत पास खोस्दै उत्कृष्ट गोल गरी जापानलाई सुरुवाती अग्रता दिलाएका थिए ।
जापानले विश्वकपमा अहिलेसम्म नकआउट चरणको कुनै पनि खेल जित्न सकेको छैन । यसअघि सन् २०१८ र २०२२ मा पनि जापानले सुरुवाती अग्रता लिएर पनि खेल गुमाउन पुगेको थियो ।
जापानविरुद्धका १५ खेलमा ब्राजिलको यो १२ औं जित हो । यी दुई टोलीबीच दुई खेल बराबरी भएका छन् भने जापानले गत अक्टोबरमा टोकियोमा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलविरुद्ध आफ्नो इतिहासकै पहिलो जित दर्ता गरेको थियो ।
यी दुई देशबीच गहिरो सम्बन्ध रहेको छ । ब्राजिलमा करिब २७ लाख जापानीको बसोबास छ । जुन जापानबाहिर संसारकै सबैभन्दा ठूलो जापानी जनसंख्या हो ।
यो सम्बन्ध फुटबलसम्म पनि फैलिएको छ । ब्राजिलका चर्चित फुटबलर जिको सन् १९९१ मा ‘कासिमा एन्ट्लर्स’ बाट खेल्न र जापानको व्यावसायिक फुटबल नेटवर्क निर्माण गर्न सहयोग गर्न जापान गएका थिए ।
उनले सन् २००२ देखि २००६ सम्म जापानी राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा काम गरे र टोलीलाई २००६ को विश्वकपसम्म पुर्याएका थिए ।
त्यस विश्वकपमा यी दुई टोलीबीच भएको एकमात्र अघिल्लो भेटमा जापान ब्राजिलसँग ४–१ ले पराजित भएको थियो ।
मस्कोसँगको बराबरी तथा हाइटी र स्कटल्याण्डमाथिको जितसँगै ब्राजिल समूह ’सी’ को विजेता बन्दै अगाडि बढेको हो । यो पराजयसँगै गत सेप्टेम्बरमा अमेरिकासँग २–० ले हारेयताको जापानको लगातार १० खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।


