टोकियो । टोकियोस्थित नेपाली राजदूतावासले जापानमा क्रियाशील रहेका नेपाली संघसंस्थाहरूलाई अनिवार्य रूपमा सूचीकृत हुन आह्वान गरेको छ।
राजदूतावासले आज एक सूचना जारी गर्दै आगामी जुलाई महिनाभित्र आवश्यक विवरण बुझाएर सूचीकृत हुन अनुरोध गरेको हो।
जापानमा रहेका नेपाली नागरिकहरूको हकहितको संरक्षण तथा कल्याण गर्न, नेपालको संस्कृति, रीतिरिवाज, परम्परा र भेषभूषाको प्रवर्द्धन गर्न, साथै नेपालको व्यापार, पर्यटन र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासमा संघसंस्थाहरूको विवरण आवश्यक देखिएकाले सूचीकृत गरी सहयोग गर्न दूतावासले अनुरोध गरेको छ।
दूतावासले संघसंस्थाहरूसँग सहज सम्पर्क स्थापित गर्नका लागि सूचीकृत गर्नुपरेको भन्दै भाैतिक रूपमा पठाइ सूचीकृत कार्यमा सहयोग गर्न अनुरोध गरेको छ।
राजदूतावासले सूचनामार्फत यो प्रक्रिया संस्था दर्ता गर्ने नभई जापानमा क्रियाशील रहेका संस्थाहरूको विवरण संकलन गरी सूचीकृत गर्ने कार्य मात्र भएको समेत प्रष्ट पारेको छ।
बुझाउनुपर्ने विवरणहरू:
सूचीकृत हुनका लागि संघसंस्थाहरूले २०२६ जुलाई भित्र भौतिक रूपमा राजदूतावासमा उपस्थित भई निम्नलिखित विवरणहरू बुझाउनुपर्नेछ:
१. संघसंस्था वा पदाधिकारीहरूको विवरण (सम्पर्क नम्बर, इमेल र वेबसाइट भए सो समेत) तथा संस्थाको अध्यक्ष वा संयोजकको नेपाली राहदानी (पासपोर्ट) को प्रतिलिपि।
२. संघसंस्थाको विधान भए सोको प्रतिलिपि वा केन्द्रीय कार्यालय नेपालमा भए केन्द्रको मान्यतापत्र।
३. संस्थाको आगामी कार्यक्रमहरू भएमा सोको विवरण ।



