टोकियो । जापानको मध्य क्षेत्रमा पर्ने यामानासी प्रिफेक्चर र आसपासका क्षेत्रमा ५.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पपछि सुनामीको कुनै चेतावनी जारी गरिएको छैन भने माउन्ट फुजीको ज्वालामुखी गतिविधिमा पनि कुनै असामान्य अवस्था नदेखिएको बताइएको छ ।
स्थानीय समयअनुसार राति १० बजेर २९ मिनेटमा करिब २० किलोमिटर गहिराइमा गएको उक्त भूकम्पले यामानासीको फुजीकावागुचिकोमा जापानको भूकम्पीय तीव्रता मापक स्केल (सेस्मिक इन्टेन्सिटी स्केल) ७ मध्ये ‘लोअर ६’ तीव्रता कायम गरेको थियो ।
जापानको मौसम विज्ञान निकायका अनुसार ‘लोअर ६’ तीव्रताको अर्थ सीधा उभिन गाह्रो हुने, नअडिएका फर्निचरजस्ता सामानहरू ढल्न सक्ने र झ्यालका सिसाहरू फुट्न सक्ने स्थिति हो । टोकियो महानगर क्षेत्रका केही भागहरूमा पनि ४ तीव्रताको धक्का महसुस गरिएको थियो ।
यद्यपि भूकम्पका कारण च्युबु इलेक्ट्रिक पावर कम्पनीको हामाओका प्लान्ट लगायतका आणविक ऊर्जा केन्द्रहरूमा कुनै क्षति नपुगेको मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले जानकारी दिएका छन् ।
जेआर सेन्ट्रलका अनुसार भूकम्पपछि तोकाइदो शिन्कान्सेन (बुलेट ट्रेन) सेवाहरू केही समयका लागि स्थगित गरिएका थिए ।
यसैगरी तोहोकु, जोएत्सु र होकुरिकु शिन्कान्सेन सेवाहरू स्वतः रोकिएका थिए । तर करिब १५ मिनेटपछि पुनः सञ्चालनमा आएको जेआर इस्टले जनाएको छ ।
प्रधानमन्त्री सानाए ताकाइचीले अधिकारीहरूलाई तत्काल सूचना संकलन गर्न र जनतालाई आवश्यक जानकारी तुरुन्त उपलब्ध गराउन निर्देशन दिएकी छन् ।
जापानकै अग्लो माउन्ट फुजी हिमालको यसवर्षको आरोहणको सिजन सुरु गर्ने तयारी भइरहेका बेला यो भूकम्प गएको हो ।
विज्ञहरूका अनुसार भूकम्प प्रभावित क्षेत्र फिलिपिन्स सागर प्लेट लगायतका विभिन्न टेक्टोनिक प्लेटहरू आपसमा जोडिने क्षेत्र नजिक पर्दछ ।
जापान अत्यधिक भूकम्प जाने प्रशान्त महासागरको रिंग अफ फायर क्षेत्रमा पर्छ । बिहीबार मात्रै उत्तर–पूर्वी जापानमा अर्को शक्तिशाली भूकम्प गएको थियो ।


