टोकियो । जापानको उत्तर–पूर्वी तटमा बिहीबार बिहानै ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । तर, सुनामीको कुनै चेतावनी जारी गरिएको छैन ।
भूकम्पका कारण तत्काल कोही घाइते भएको रिपोर्ट नआएको र आणविक केन्द्रहरूमा पनि अवस्था सामान्य रहेको जापानी अधिकारीहरुले जनाएका छन् ।
जापान सरकारले तोहोकु क्षेत्रमा गएको भूकम्पको सूचना संकलन गर्न र विपद् उद्धार कार्यका लागि तयारी अवस्थामा रहन एउटा आपतकालीन टोली गठन गरेको मुख्य मन्त्रिपरिषद् सचिव मिनोरु किहाराले पत्रकारहरूलाई जानकारी दिए ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार जमिनको सतहबाट करिब ५० किलोमिटर गहिराइमा गएको उक्त भूकम्पको केन्द्रविन्दु इवाते प्रिफेक्चरको तटीय क्षेत्रमा रहेको थियो । समुद्री सतहमा सामान्य परिवर्तन बाहेक सुनामीबाट कुनै क्षतिको सम्भावना नरहेको एजेन्सीले जनाएको छ ।
जापानको ० देखि ७ सम्मको भूकम्पीय तीव्रता मापन स्केलअनुसार सबैभन्दा बढी प्रभावित भएको ओमोरी प्रिफेक्चरमा ‘६–प्लस’ (६ भन्दा बढी) को तीव्रता मापन गरिएको थियो ।
यो तीव्रता भनेको मानिसहरूलाई सीधा उभिन वा घस्रिएरबाहेक अन्य तरिकाले हलचल गर्न असम्भव हुने स्तर हो । तोहोकु इलेक्ट्रिक पावरले आफ्ना ओनागावा र हाल बन्द अवस्थामा रहेको हिगासिदोरी आणविक ऊर्जा केन्द्रहरूमा कुनै असामान्य अवस्था फेला नपरेको जनाएको छ ।
आणविक नियमन प्राधिकरणका अनुसार टोकियो इलेक्ट्रिक पावर र अन्य कम्पनीहरूका नजिकै रहेका आणविक केन्द्रहरूमा पनि कुनै गडबडी देखिएको छैन ।
इस्ट जापान रेलवेले भूकम्पपछि तोहोकु सिन्कान्सेन द्रुत गतिको रेल सेवा (बुलेट ट्रेन) सहित केही ट्रेनहरूको सञ्चालन रोकेको जनाएको छ ।
यसैगरी, ओमोरी प्रिफेक्चरका द्रुतमार्गहरू पनि निरीक्षणका लागि बन्द गरिएको थियो ।
विश्वकै सबैभन्दा बढी भूकम्पीय जोखिम भएको क्षेत्रमध्ये एक मानिने जापानमा भूकम्प जानु सामान्य जस्तै हो । विश्वभरि जाने ६ म्याग्निच्युड वा सोभन्दा ठूला भूकम्पहरूमध्ये झन्डै पाँच भागको एक भाग जापानमै जाने गर्दछ ।


