टोकियो । जापानी सरकारले आगामी जुलाई महिनादेखि विदेशी नागरिकका लागि लागू हुने ‘सिंगल–एन्ट्री’ (एक पटक मात्र प्रवेश गर्न मिल्ने) भिसा शुल्क ३ हजार येनबाट ५ गुणाले बढाएर १५ हजार येन पुर्याउने निर्णय गरेको छ ।
बढ्दो मुद्रास्फीति र येनको अवमूल्यनका बीच सन् १९७८ यता भिसा शुल्कमा वृद्धि गरिएको यो पहिलो पटक हो ।
यसैगरी, तोकिएको अवधिभित्र पटक–पटक जापान प्रवेश गर्न पाइने ‘मल्टिपल–एन्ट्री’ भिसाको शुल्क पनि ६ हजार येनबाट बढाएर ३० हजार येन पुर्याइने भएको छ।
‘यो कदमले जापान भित्रिने बाह्य पर्यटनमा तत्कालै कुनै गम्भीर असर पार्ने अपेक्षा हामीले गरेका छैनौं,’ परराष्ट्रमन्त्री तोशिमित्सु मोतेगीले पत्रकार सम्मेलनका क्रममा भने ।
यस वृद्धिसँगै जापानको भिसा शुल्क ‘ग्रुप अफ सेभेन’ (जी–७) का अन्य सदस्य राष्ट्रहरूले लागू गरेको शुल्कको स्तर नजिक पुग्ने छ ।


