जापानमा चामलको मूल्य साढे तीन वर्षपछि पहिलो पटक घट्यो

|

टोकियो । जापानमा पछिल्लो साढे ३ वर्षमा पहिलो पटक चामलको मूल्यमा गिरावट आएको छ ।

चामलको अत्यधिक मूल्यवृद्धिका कारण सरकारमाथि ठूलो दबाब परिरहेका बेला गत मे महिनामा चामलको मूल्य घटेको सरकारी अधिकारीले जानकारी दिएका हुन् ।

दुई वर्षअघि जारी गरिएको ‘मेगाक्वेक’ (ठूलो भूकम्प) को चेतावनीपछिको अनियन्त्रित खरिद र अत्यधिक गर्मीलगायतका बहुआयामिक कारणले सिर्जित आपूर्ति अवरोधका कारण सन् २०२४ र २०२५ मा चामलको मूल्य ह्वात्तै बढेको थियो ।

खस्कँदो जीवनस्तर र भ्रष्टाचार काण्डहरूसँगै चामलको यो संकटका कारण मतदाताहरूले सत्तारूढ दलको साथ छाडेका थिए । परिणामस्वरूप प्रधानमन्त्री बनेको एक वर्ष पनि नपुग्दै सिगेरु इसिबाले गत सेप्टेम्बरमा पदबाट राजीनामा दिनुपरेको थियो ।

उपभोक्ता मुद्रास्फीति तथ्याङ्क हेर्ने आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीका अनुसार विलासी ‘कोसिहिकारी’ प्रजातिबाहेक अन्य चामलको मूल्य गत वर्षको मे महिनाको तुलनामा ५.४ प्रतिशतले घटेको छ । नोभेम्बर २०२२ पछि यति ठूलो मात्रामा मूल्य घटेको यो पहिलो पटक हो ।

प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको वर्तमान सरकारले चामलको मूल्य घटाउन आपतकालीन भण्डारबाट खाद्यान्न बजारमा पठाउने लगायतका विभिन्न उपायहरू अवलम्बन गरेको थियो ।

चामलको मूल्य घटेसँगै जापानी उपभोत्ताहरुले राहत महसुस गरेका छन् ।

‘अस्ति भर्खरै… मैले लामो समयपछि पहिलो पटक १० केजी चामलको बोरा ४,००० येनमा फेला पारेँ र तुरुन्तै किनेँ,’ एक टोकियोका उपभोक्ताले भने, ‘तर केही वर्षअघिको तुलनामा मूल्य अझै महँगो छ । उनीहरूले यसको दोष तथाकथित आपूर्ति शृङ्खलाको संकटलाई थुपारिरहन्छन्, तर म सरकारले यसको मूल कारणबारे अनुसन्धान गरोस् र फेरि मूल्य यसरी नबढ्ने गरी स्थिरता कायम गरोस् भन्ने चाहन्छु ।’

जापानमा सन् २०२३ को अत्यधिक र सुख्खायामका कारण देशभरिको धानबालीमा क्षति पुगेपछि चामल अभाव सुरु भएको थियो । विज्ञहरूका अनुसार त्यसपछि केही व्यापारीहरूले बढी नाफा कमाउने उद्देश्यले चामल भण्डारण गर्न सुरु गरेका थिए ।

सन् २०२४ मा सरकारले सम्भावित ‘महाभूकम्प’ को चेतावनी जारी गरेपछि सर्वसाधारणमा त्रास फैलियो र चामलको अनियन्त्रित भण्डारण सुरु हुँदा यो समस्या झनै गम्भीर बन्यो ।

यसका साथै आयातित खाद्यान्नको मूल्य बढेपछि आन्तरिक रूपमै उत्पादित चामलको माग बढ्यो भने रेकर्ड संख्यामा भित्रिएका विदेशी पर्यटकहरूका कारण पनि चामलको खपत उच्च भएको बताइन्छ ।

तर विश्लेषकहरूले यसको दोष धान खेती गरिने जमिन घटाउने जापानको दशकौँ पुरानो नीति र बढ्दो वृद्ध उमेरको जनसंख्यालाई पनि दिएका छन् । जापानमा धेरैजसो धान किसानहरू वृद्ध भइसकेका छन् र उनीहरूका सन्तानको यो पेसा अँगाल्ने तर्फ कुनै रुचि देखिँदैन ।