महिला साथीको हत्या प्रयास गरेको अभियोगमा पुरुष पक्राउ

|

टोकियो। जापानको मियागी प्रिफेक्चरको प्रहरीले सेन्दाईमा आफ्नै घरमा एक महिला साथीको घाँटी थिचेर हत्या गर्ने प्रयास गरेको आशंकामा २९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

मियागी ब्रोडकास्टिङ कम्पनीको रिपोर्ट अनुसार प्रहरीले यो घटना जुन १४ को राति करिब ११ बजे भएको जनाएको छ ।

घटनाको करिब दुई घण्टापछि ती महिलाले प्रहरीलाई फोन गरेर जानकारी गराएकी थिइन् । प्रहरीका अनुसार महिलालाई गम्भीर चोट भने लागेको छैन ।

प्रहरीका अनुसार निर्माण क्षेत्रमा कार्यरत आरोपी शोया जुमोन्जीले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

उनले प्रहरीसँग भनेका छन्, ‘मैले उनको अनुहार समातेको थिएँ, तर घाँटी थिचेको होइन ।’

पीडितको गोपनीयतालाई ध्यानमा राख्दै प्रहरीले उनीहरूबीचको सम्बन्धबारे थप विवरण खुलाउन अस्वीकार गरेको छ ।