टोकियो। जापानको कानागावा प्रिफेक्चरको सागामिहारामा एक जना १७ वर्षीया किशोरी मृत फेला परेकी छन् ।
यो घटनामा प्रहरीले १७ वर्षीया पूर्वप्रेमिकाको हत्या गरी शव नदी किनारमा छाडेको आशंकामा एक १९ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
एनटीभीको रिपोर्ट अनुसार, सागामिहारा सहरको मिनामी वार्डस्थित सागामी नदी नजिकैको एउटा पुलमुनि नदी किनारमा बिहीबार बिहान २ बजे युरा सातोको शव फेला परेको प्रहरीले जनाएको छ ।
सातो छिमेकी सहर जामामा हाई स्कूलको तेस्रो वर्षकी छात्रा थिइन् । प्रहरीका अनुसार उनले बुधबार दिउँसो आफ्नो परिवारलाई फोन गरेर पूर्वप्रेमीले भेट्न बोलाएको र आफू भेट्न जान लागेको बताएकी थिइन् ।
उनी राति ११ः५० बजेसम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई सम्पर्क गरेको थिए ।
पेन्टरको काम गर्ने ती शंकास्पद युवकले बुधबार राति करिब ९ः५० बजे सातोको हत्या गरेको कुरा स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।


