टोकियो । जापानका पश्चिमी क्षेत्रमा भारी वर्षा र बाढीको चेतावनी जारी गरिएको छ । जापान मौसम एजेन्सीले जापानका केही भाग र देशको दक्षिण–पश्चिममा रहेको नानसेइ टापु श्रृंखलामा भारी वर्षा र बाढी आउने चेतावनी दिएको हो ।
एजेन्सीका अनुसार आइतबार क्युशु टापुको दक्षिणी भाग हुँदै एउटा न्यून चापीय प्रणाली पार हुने अपेक्षा गरिएको छ । त्यसपछि सोमबारसम्म मुख्य टापु होन्शुको दक्षिणी तट हुँदै पूर्वतर्फ लाग्नेछ ।
एजेन्सीले सप्ताहन्तमा पश्चिमी जापानको शिकोकु क्षेत्रका तल्लो भागहरूमा पहिरो र बाढी विरुद्ध सतर्क रहन बासिन्दाहरूलाई चेतावनी दिएको छ ।
आइतबार साँझ ६ बजेसम्मको २४ घण्टामा शिकोकु टापुमा ३०० मिलिमिटरसम्म, दक्षिणी क्युशु र अमामी क्षेत्रमा २५० मिमीसम्म र ओकिनावा प्रिफेक्चरमा १०० मिमीसम्म वर्षा हुने अनुमान गरिएको छ ।
भर्खरै मात्र समुद्री आँधी जाङ्गमीले पश्चिमी र पूर्वी जापानको प्रशान्त क्षेत्रमा भारी वर्षा गराएको थियो ।


