टोकियो । प्रशान्त महासागरको तटीय क्षेत्रमा पर्ने जापानका पश्चिमी र पूर्वी भागहरूमा समुद्री आँधी ‘जाङ्गमी’ का कारण भारी वर्षा गराउने पूर्वानुमान गरिएको छ ।
जापान मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार आँधीका कारण विमान सेवाहरूले आफ्ना उडानहरू रद्द गर्न सुरु गरिसकेका छन् ।
विभागले दक्षिण–पश्चिमी टापु क्युशुदेखि टोकियो समेत पर्ने कान्तो क्षेत्रसम्म आउँदो बुधबारसम्म चेतावनी स्तरको भारी वर्षा हुन सक्ने बताएको छ ।
साथै तीव्र हावाहुरी, सामुद्रिक छाल, पहिरो र नदीहरूमा आउन सक्ने बाढीप्रति सतर्क रहन आग्रह गरिएको छ ।
सिजनको छैटौं आँधी सोमबार र मंगलबार दक्षिणी टापु ओकिनावा र आमामी टापुहरू नजिक पुग्ने अनुमान गरिएको छ । बुधबारपछि पूर्वी क्षेत्रतर्फ सर्ने र कमजोर हुँदै जाने सम्भावना छ ।
आँधी आउनुअघि नै केही क्षेत्रमा वर्षा हुन सक्छ । वर्षाको अवधि लामो हुन सक्ने र केही स्थानमा भारी वर्षा हुनसक्ने एजेन्सीले जनाएको छ । केही क्षेत्रहरूमा २ सय देखि ३ सय मिलिमिटर भन्दा बढी वर्षा हुने अनुमान छ ।
जापान एयरलाइन्स र अल निप्पन एयरवेजले ओकिनावा जाने र आउने उडानहरू रद्द गरेको छ ।
सोमबार दिउँसोसम्मको २४ घण्टाको वर्षा पूर्वानुमान अनुसार ओकिनावामा १०० मिलिमिटर र आमामी र दक्षिणी क्युशुमा ८० मिलिमिटर वर्षाको सम्भावना छ ।
मंगलबार दिउँसोसम्म ओकिनावा, आमामी र दक्षिणी क्युशुमा ३०० मिमी पानी पर्ने अनुमान गरिएको छ ।
बुधबार दिउँसोसम्म पश्चिमी जापानको शिकोकु र कान्साई क्षेत्रमा ३०० मिमी र मध्य जापानको तोकाई र कान्तोजस्ता क्षेत्रहरूमा २०० मिमी पानी पर्ने अपेक्षा गरिएको छ ।
आइतबार रातिसम्म आँधी ओकिनावाको दक्षिणमा प्रतिघण्टा २० किलोमिटरको गतिमा उत्तरतर्फ सर्दै थियो । यसको केन्द्रीय चाप ९७५ हेक्टोपास्कल थियो । जसमा अधिकतम हावाको गति १०८ किमी प्रति घण्टा र अधिकतम तात्कालिक हावाको गति १६२ किमी प्रतिघण्टा थियो ।


