फुकुओका । आफ्नै दाजुलाई चक्कु प्रहार गरी हत्याको प्रयास गरेको आरोपमा फुकुओका प्रहरीले ३२ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ ।
टिभीएस समाचार संस्थाका अनुसार, कोहेई यासुकावामाथि गत मे २६ को राति करिब साढे ८ बजे जोनान वार्डस्थित आफ्ना ३३ वर्षीय दाजुको घरमा उनीमाथि भान्सामा प्रयोग हुने चक्कुले घाँटी र काँधमा पटक–पटक प्रहार गरेको आरोप छ ।
पीडितसँगै बस्ने उनकी आमाले ११२ (प्रहरीको आपतकालीन नम्बर) मा फोन गरी आफ्नो कान्छो छोराले जेठो छोरालाई चक्कु प्रहार गरिरहेको जानकारी दिएकी थिइन् ।
प्रहरीले पीडितलाई घटनास्थल नजिकैको सडकमा रगताम्मे अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार उनको चोट ज्यान जाने खालको भने छैन ।
चक्कु प्रहार गरेपछि यासुकावाले दाजुको घरको एउटा कोठामा आफूलाई थुनेर एउटा पत्रिकामा आगो लगाएका थिए । कोठाबाट धुवाँ निस्किएको देखेपछि प्रहरीले झ्याल फुटाएर घरभित्र पसी उनलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्ने क्रममा यासुकावाको घाँटीबाट पनि रगत बगिरहेको थियो, जुन उनले आत्महत्या गर्ने प्रयास गर्दा भएको बताइएको छ । उनलाई तत्काल अस्पताल भर्ना गरिएकोमा डिस्चार्ज भएपछि पक्राउ गरिएको हो ।


