९०वर्षीया आमाको हत्या आरोपमा ६७ वर्षीय छोरा पक्राउ

|

फुकुई । जापानको फुकुई प्रान्तको साबाए प्रहरीले ९० वर्षीया आमाको हत्या आरोपमा ६७ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ ।

फुकुई टिभीका अनुसार तोसियुकी साकाईमाथि शुक्रबार बिहान करिब १० साढे बजे आफ्नै घरमा आमा मिचिकोको विद्युतीय उपकरणको तार प्रयोग गरेर घाँटी थिची हत्या गरेको आरोप छ ।

साकाई आफ्नी श्रीमती र छोरासँग एउटै जग्गामा रहेको अर्को छुट्टै घरमा बस्ने गर्दथे । घटनाको समयमा उनकी श्रीमती र छोरा दुवै घरबाहिर थिए ।

बिहान करिब साढे ११ बजे साकाई आफैंले ११० नम्बरमा फोन गरेर प्रहरीलाई आफूले आमाको हत्या गरेको जानकारी दिएका थिए । उनकी आमालाई तत्काल अस्पताल पुर्‍याइएको भए पनि अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।

प्रहरीका अनुसार साकाईले बयानका क्रममा भनेका छन्, ‘म दैनिक जीवनका चिन्ताहरूले गर्दा निकै तनावमा थिएँ । मैले आत्महत्या गर्ने सोचसमेत बनाएको थिएँ, तर आँट गर्न सकिनँ ।’

छिमेकीहरूका अनुसार साकाईकी आमालाई कुनै विशेष चिकित्सा हेरचाहको आवश्यकता थिएन र परिवारमा कुनै स्पष्ट समस्याहरू पनि देखिएका थिएनन् ।