टोकियो। जापान सरकारले पश्चिम एसियामा जारी तनावका कारण ऊर्जा आपूर्तिमा आएको रोकावटसँगै ठूलो मात्रामा ऊर्जा सब्सिडीका लागि खर्च गर्ने सम्भावना छ ।
ऊर्जाको बढ्दो लागतबाट प्रभावित परिवारलाई सहयोगका लागि सरकारले ३ अर्ब डलरभन्दा बढी खर्च गर्नेबारे विचार गरिरहेको जनाइएको छ ।
सरकार र सत्तारुढ गढबन्धनका पार्टी ग्यास र विद्युतको बिललाई गत वर्षकै तुलनामा कायम राख्न चाहन्छन् ।
सरकारले गत वर्षको जुलाई र सेप्टेम्बरमा प्रतिकिलोवाट/प्रतिघन्टा २ येन र अगस्टमा २.४ येनको बिजुली सब्सिडी प्रदान गरेको थियो ।
सरकारले यो वर्षको गर्मीको समयमा पनि १ देखि २ येन सब्सिडी दिने योजना बनाइरहेको छ ।
यी उपायका लागि करिब ५ सय अर्ब येन अर्थात् ३ अर्ब डलरभन्दा बढी रकम विनियोजन गर्ने योजनाबारे अर्को सातासम्म निर्णय गर्नसक्ने जनाइएको छ । यो रकम यो आर्थिक वर्षको बजेटबाटै व्यवस्था गरिनेछ ।
योजनाको व्यापक स्वरुपलाई मध्यनजर गर्दै यो वर्षको पुरक बजेट तयार गर्ने सम्भावनाबारे समेत छलफल हुने अनुमान गरिएको छ ।


