टोकियो । जापानको प्रशिद्ध माउन्ट फुजी नजिकै रहेको एक परीक्षण क्षेत्रमा अमेरिकी मरिनले मोबाइल लन्चरबाट एक दर्जन रकेटहरु प्रहार गरेका छन् ।जापानले आफ्नो सैन्य नीतिमा परिमार्जन गरेसँगै जापानमा पछिल्ला समयमा हतियार परीक्षण र सैन्य गतिविधि बढेका छन् ।
‘हाइ मोबिलिटी आर्टिलरी रकेट सिस्टम’ (एचआईएमएआरएस) एउटा यस्तो लन्चर हो, जुन सैन्य ट्रकको पछाडि जडान गरिएको हुन्छ । यसलाई लुकाइएको ठाउँबाट तुरुन्तै बाहिर निकालेर रकेट प्रहार गर्न सकिन्छ र शत्रुको जवाफी आक्रमणबाट बच्न तुरुन्तै अर्को स्थानमा सार्न सकिन्छ ।
युद्धमैदानमा ड्रोनहरूको बढ्दो प्रयोगका कारण स्थिर स्थानहरू बढी जोखिमपूर्ण हुने भएकाले यस्तो ‘सुट एण्ड स्कुट’ (प्रहार गर्ने र सुरक्षित स्थानमा सर्ने) रणनीति निकै महत्त्वपूर्ण बन्दै गएको छ ।
यो प्रणाली अमेरिकी सेनाले इराक र अफगानिस्तानमा प्रयोग गरिसकेको छ । अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार इरानमा गरिएको आक्रमणमा पनि यसको प्रयोग गरिएको थियो । जहाँबाट सयौं माइल टाढाको लक्ष्यमा प्रहार गर्न सक्ने नयाँ ‘प्रिसिजन–गाइडेड’ रकेट छोडिएको थियो ।
प्रशान्त क्षेत्रमा अमेरिकाले ताइवानमाथि गर्नसक्ने सम्भावित चिनियाँ आक्रमणलाई रोक्न यो प्रविधि महत्वपूर्ण हुने अमेरिका र जापानको विश्वास छ । चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दै आएको छ । त्यसैले यो क्षेत्रलाई कब्जा गर्न बल प्रयोग गर्न सक्ने सम्भावनालाई नकारेको छैन ।
यदि जापान वा नजिकैका अन्य टापुहरूमा तैनाथ गरियो भने अत्याधुनिक मिसाइल जडान गरिएका ‘हाइमार्स’ प्रणालीले ताइवान र मुख्य भूमि चीनको बीचमा रहेको ताइवान जलसन्धिमा रहेका लक्ष्यहरूमा सजिलै प्रहार गर्न सक्छन् ।
सामान्यतया ‘हाइमार्स’ छोटो दूरीका रकेटहरूले सुसज्जित हुन्छ । टोकियोबाट करिब दुई घण्टाको दूरीमा रहेको अमेरिकी सैन्य शिविर ‘क्याम्प फुजी’ मा गरिएको यस अभ्यासमा भने केबल नक्कली क्षेप्यास्त्रहरू मात्र प्रयोग गरिएको थियो ।
क्याम्प फुजीमा ‘हाइमार्स’ परीक्षण गरिएको यो दोस्रो पटक हो । जुन जापानी सैन्य बलसँगको निकट समन्वयमा गरिएको थियो । सुरक्षा सतर्कता अपनाउँदै रकेट प्रहार गरिएको स्थान र त्यो खस्ने स्थानको बीचमा पर्ने सार्वजनिक सडकलाई अभ्यासको समयमा बन्द गरिएको थियो ।


