टोकियो । सांघाईको एक जापानी रेस्टुरेन्टमा मंगलबार भएको छुरा प्रहार हुँदा दुई जापानी पुरुषसहित तीन जना घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूले फलफूल काट्ने चक्कु बोकेका ५९ वर्षीय एक पुरुषले पुडोङ न्यू एरियास्थित एउटा व्यावसायिक भवनमा रहेको रेस्टुरेन्टमा पसेर आक्रमण गरेको जनाएका छन् ।
भवनमा काम गर्ने कर्मचारीहरूका अनुसार तेस्रो घाइते व्यक्ति एक चिनियाँ महिला हुन् । आक्रमणकारीलाई पछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार घाइते दुई जापानी नागरिकलाई तत्कालै अस्पताल लगिएको थियो । उनीहरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकजना सोही भवनमा कार्यालय रहेको एक जापानी कम्पनीका वरिष्ठ अधिकारी रहेको बताइएको छ ।
यो घटनासँगै जापानले चीनमा बसोबास गर्ने जापानी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ । आक्रमणकारी पुरुषको मानसिक स्वास्थ्यमा समस्या रहेको पाइएको र अधिकारीहरूले यसबारे थप अनुसन्धान गरिरहेको बताएका छन् ।
सोही वित्तीय क्षेत्रको भवनमा काम गर्ने एक जापानी व्यक्तिले भने, ‘आक्रमणपछि रेस्टुरेन्टमा ५–६ जना प्रहरीहरू थिए । म अचम्ममा परें किनभने म प्रायः त्यहाँ खाना खान जाने गर्थें ।’
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले गत नोभेम्बरमा संसदमा ताइवान द्वन्द्वको अवस्थामा जापानले आफ्नो रक्षा बल परिचालन गर्न सक्ने संकेत दिएपछि दुई छिमेकी देशहरूबीच सम्बन्ध चिसिएको समयमा यो घटना भएको हो ।
यसअघि सेप्टेम्बर २०२४ मा दक्षिणी चीनको शेन्जेनमा १० वर्षीय जापानी बालकको छुरा प्रहार गरी हत्या गरिएको थियो । जसले चीनमा रहेका जापानी समुदायमा त्रास फैलाएको थियो ।


