टोकियो । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले गत निर्वाचनमा विपक्षी दलहरुविरुद्ध अनलाइनमार्फत बदनाम गराएको आरोप अस्वीकार गरेकी छन् ।
केही रिपोर्टहरुमा निर्वाचनमा ताकाइचीले विपक्षीविरुद्ध अनलाइनमार्फत अभियान चलाएको भन्दै आलोचना भइरहेका बेला उनले सो आरोप अस्वीकार गरेकी हुन् ।
गत वर्ष भएको निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्वको दौड र फेब्रुअरीको आम निर्वाचनमा विपक्षीहरूलाई बदनाम गर्न अज्ञात खाताहरू मार्फत अनलाइन भिडियोहरू फैलाएको दाबी गरिएको थियो ।
अप्रिलको अन्त्यमा साप्ताहिक पत्रिका ‘शुकान बुन्शुन’ मा प्रकाशित रिपोर्टहरूमा ताकाइचीका सरकारी कोषबाट तलब पाउने प्रथम सचिवसहितले नेतृत्वका प्रतिद्वन्द्वी तथा हालका रक्षामन्त्री सिन्जिरो कोइजुमीलगायतका राजनीतिज्ञहरूको आलोचना गर्दै भिडियोहरू बनाएर पोस्ट गरेका उल्लो थियो । जसमा उनलाई ‘असक्षम’ र ‘वंशानुगत राजनीतिको कठपुतली’ को आरोप लगाइएको थियो ।
यस्तै गत फेब्रुअरीको आम निर्वाचनमा पनि विपक्षी नेता युकियो इदानोसहितका नेताहरुमाथि अनलाइन अभियान चलाएको आरोप थियो । सेन्ट्रिस्ट रिफर्म एलायन्सबाट उम्मेदवार बनेका इदानोले आफ्नो सिट गुमाएका थिए ।
‘मेरो कार्यालय र अभियान टोलीले कुनै पनि हिसाबले अन्य उम्मेदवारहरूको बारेमा नकारात्मक सूचना फैलाएको वा त्यस्ता भिडियोहरू बनाएर वितरण गरेको छैन,’ विपक्षी सांसद युको मोरीको प्रश्नको जवाफमा ताकाइचीले संसदमा भनिन् ।
प्रधानमन्त्री ताकाइचीले विपक्षीहरूलाई व्यक्तिगत रूपमा आक्रमण गर्नु आफ्नो राजनीतिक शैलीभित्र नपर्ने समेत स्पष्ट पारेकी छन् ।
ताकाइची सामाजिक सञ्जालको प्रभावकारी प्रयोगका लागि चर्चित छन् । उनले यस्ता सञ्जालको उपयोग गरेर नै गत वर्षको अक्टोबरमा देशको पहिलो महिला प्रधानमन्त्री बन्न र एलडीपीले तल्लो सदनको निर्वाचनमा भारी जित हासिल गर्न सफल भएको बताइन्छ ।


